भरतपुर अस्पतालमा बन्यो ५० वेड क्षमताको ट्रमा सेन्टर, मन्त्री गौतमद्वारा उद्घाटन

मंसिर २१, २०८२ |राजु चौधरी
भरतपुर अस्पतालमा बन्यो ५० वेड क्षमताको ट्रमा सेन्टर, मन्त्री गौतमद्वारा उद्घाटन

चितवन । संघीय सरकारअन्तर्गतको भरतपुर अस्पतालले औपचारिक रूपमा ट्रमा सेन्टरबाट उपचार सेवा सुरू गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले आइतबार ट्रमा सेन्टर भवनको समुद्घाटन गरेसँगै भरतपुर अस्पतालमा औपचारिक रूपमा ट्रमा सेन्टरबाट सेवा सुरू भएको हो । तत्कालका लागि १५ वेड क्षमतामा ट्रमा सेन्टरबाट उपचार सेवा सुरू गरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. कष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे । 

अस्पताल विकास समितिले आफ्नै स्रोतबाट ट्रमा सेन्टर निर्माण गरेको हो । भवन निर्माण गर्दा ११ करोड खर्च भएकोमा सबै उपकरण जडान हुँदासम्म १३ करोड रूपैयाँ खर्च लाग्ने मेसु पौडेलले जानकारी दिनुभयाे । यो ट्रमा सेन्टर ५० वेड क्षमताको रहने छ । 

ट्रमा सेन्टरकाे उद्घाटन गर्दै स्वास्थ्य मन्त्री गौतमले आफू ४५ वर्षअघि भरतपुर अस्पतालमा काम गर्दा नै ट्रमा सेन्टरको आवश्यकता महसुस भएको स्मरण गर्दै आइतबार आफैंले ट्रमा सेन्टरको उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयाे । उहाँले भरतपुर अस्पताललाई विशेषज्ञ अस्पतालको रूपमा विकास गर्नु पर्नेमा जोड दिँदै तत्काल एमबीबीएस पढाइ सुरू गर्ने अवश्यकता नरहेको बताउनुभयाे । 

मन्त्री गौतमले अझै पनि पीसीएल नर्सिङको आवश्यकता रहेको भन्दै सरकारले हाल बन्द अवस्थामा रहेको पीसीएल तहको नर्सिङ पढाइ पुनः सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयाे । उहाँले अध्यादेश ल्याएर भए पनि आफ्नै अस्पताल भएका संस्थाले एसईई पछिको पीसीएल नर्सिङ पढाउन पाउने गरी प्रक्रिया अघि बढाउन लागिएको बताउनुभयाे । 


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।