काठमाडौं । नागरिकको उपचारमा सहज होस् भनेर सरकारले आठ वर्षअघि स्वास्थ्य बिमा सुरु गरे पनि बिमामा आबद्ध भएकाहरुले नै पैसा तिरेर उपचार गराउनुपर्ने बाध्यता छ । बिमितले बिमा गरेकै रकमबाट पाउनुपर्ने ११ सय ३५ प्रकारका औषधि पनि पाउन सकेका छैनन् ।
बिमालाई दुरुपयोग हुन नदिन सरकारले २० प्रतिशतसम्म सहभुक्तानी गर्ने व्यवस्था गरे पनि कार्यक्रम अझै प्रभावकारी हुन सकेको छैन । सेवा प्रदायकको नियमन गर्न र सेवा सहज बनाउन सरकारको ठोस पहल नै गरेको छैन ।
स्वास्थ्य बिमामार्फत पाँच जनासम्म सदस्य रहेको परिवारले वार्षिक ३५ सय रुपैयाँ तिरेमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा पाउँछन् । परिवारमा त्योभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति सात सयका दरले तिरेमा २० हजारको सेवा थप हुँदै जान्छ र १० जनासम्मको परिवारले दुई लाखसम्मको उपचार सेवा पाउँछन् ।
स्वास्थ्य बिमा बोर्डका अनुसार अहिले नेपालमा ८० लाख नागरिक बिमा योजनामा आबद्ध छन् । तर बिमामा आबद्ध भएकाहरुको गुनासो एउटै छ- बिमा गरे पनि उपचार तथा औषधि पाइँदैन । हो, बिमामा आबद्ध भएकाहरुले ११ सय ३५ प्रकारका औषधि पाउनुपर्ने हुन्छ । तर अस्पतालमा बिमा वापतको औषधि पाऊँभन्दा बाहिरै किन्नू भन्ने जवाफ पाउने गरेको पाल्पाका झविन्द्र बस्यालको अनुभव छ । ‘डाक्टर डाइरेक्ट पाइएन । सीएमए वालाले हेर्नुभयो । अनि दुईथरी दवाई लेखेर दिनुभयो,’ बस्यालले भन्नुभयो, ‘अनि दुईथरी दवाई नै नभएको, यहाँ लाइन बस्दा केही फाइदै भएन । दुई/अढाइ घण्टा समय खेर गयो । दुई आइटमको दवाई पाइएन । बाहिर किन्नु्स् भनियो ।’
त्यसो त सरकारले स्वास्थ्य बिमाको दुरुपयोग भएको भन्दै गत माघ १ गतेदेखि सहभुक्तानीको समेत व्यवस्था गरेको छ । अर्थात् बिमामा आबद्ध भएकाहरुले १५ शय्यामाथिका सरकारी अस्पतालमा उपचार गरे १० प्रतिशत र निजी तथा सामुदायिकमा गरे २० प्रतिशत सहभुक्तानी गर्नुपर्छ । तर यति हुँदा पनि बिमामा सुधार छैन । रोगले थलिएर उपचार गराउन पुगेकाहरुलाई समेत रकम तिर्न बाध्य पारिएको गुनासो छ । त्यसमाथि सेवा त झन् टिठलाग्दो रहेको जनकपुरका मनोजकुमार यादव बताउनुहुन्छ ।
‘हामीले ३५ सय तिरेका छौं । यहाँ आएर अहिले पुन: १० प्रतिशत लिँदो रहेछ । टिकट काट्दा पनि ६ रुपैयाँ लिइरहेको छ । गरिब-दु:खी कहाँ-कहाँ टाढा-टाढाबाट आएका हुन्छन्,’ उहाँले भन्नुभयो, ‘उनीहरुसँग १/२ सय रुपैयाँ पनि हुँदैन । बिमा गरेपछि सबै सेवा-सुविधा पाउँछ भने ऊ आएको हुन्छ । आउँदा सेवाग्राहीले ६ वटा दवाई छ भनेदेखि एउटा दिएर पाँचवटा बाहिर किन्न भन्छ । बिमा गर्दा सबै सेवा-सुविधा पाउने भनेर पो गरेको हो त ।’
संखुवासभाका मानबहादुर अधिकारीले पनि ३५ सयमा बिमा गराइए पनि त्यसअनुसारको सुविधा नपाएको गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘३५ सयमा बिमा गराएका छौं । तर वर्षभरि हामीले ३५ सयको उपचार पाउन पनि सकेका छैनौं । एक लाखको त टाढाको कुरा भयो ।’
स्वास्थ्य बिमामा आबद्ध भएकाहरुले निजी, सरकारी तथा सामुदायिक गरी देशभर ४७५ वटा अस्पतालबाट सेवा लिन सक्छन् । यी अस्पतालको गुनासो बिरामीको जस्तै छ । उपचार गराएपछि बिमा बार्डले यी अस्पताललाई भुक्तानी गर्नुपर्छ । तर गत माघदेखि असारसम्मको ९ अर्ब भुक्तानी बाँकी छ । यसरी ठुलो रकम बक्यौता हुँदा उपचार दिनसमेत समस्या भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रामज्ञान यादवको गुनासो छ ।
‘बिरामी चेक गराउन आयो १ बजे पुर्जी काटेर डाक्टरकोमा जानुहुन्छ, डाक्टरले टेस्टहरु लेख्नुहुन्छ, त्यो टेस्टहरु गदै त्यो दिनमा सम्भव हुँदैन । फेरि अर्को दिन रिपोर्ट देखाउन आउनुपर्छ, अर्को दिन आउँदा त्यो कार्डले हुँदैन, त्यो कार्डलाइ रिन्यु गराउनुपर्छ,’ प्रवक्ता यादवले भन्नुभयो, ‘अहिले सरकारले १० प्रतिशत आफैं तिर्नुपर्ने व्यवस्था गरिदिएर जनतालाई पैसा पनि तिर्नुपर्ने र झन्झटिलो अवस्था सिर्जना भएको छ ।’
त्यसो त बिमा बोर्डको गुनासो पनि उस्तै छ । बिमामा देखिएका तमाम समस्या आफूले चाहेर मात्र समाधान नहुने बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बस्यौलाको दाबी छ । उहाँका अनुसार यसमा तीनै तहका सरकार र सेवा प्रदायक संस्थाको भूमिका हुनेछ ।
‘बिमा बोर्डले सम्झौताअनुसार सेवा भएको छ/छैन भन्ने आफ्ना तर्फबाट गर्छ । तर एउटा सेवा प्रदायक संस्था, अस्पतालहरुलाई हेर्न काम सरकारको पनि हुन्छ । स्वास्थ्य मन्त्रालयको पनि हुन्छ,’ उहाँले भन्नुभयो, ‘दायित्व सबैको बराबरी छ । बिमा बोर्डको आफ्नो दायित्व होला । सरकारको आफ्नो दायित्व होला, स्वास्थ्य मन्त्रालयको आफ्नो दायित्व होला, अस्पतालहरु आफैं सेवा प्रदायक भएकाले सेवा दिँदा के गर्नुपर्छ ? नागरिकलाई सन्तुष्ट पार्न ।’
सरकारले सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउन विभिन्न कार्यक्रम ल्याउँछ । तर त्यसले सेवाग्राहीलाई पटक्कै छोएको छैन । उल्टै स्वास्थ्य बिमा गराउनेहरुले नवीकरण नै गर्न छाडेका छन् । स्वास्थ्य बिमामा सबैलाई आबद्ध गराउँदै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हो भने नियमन पनि उत्तिकै प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।