कैलालीमा २ जनामा हैजाको संक्रमण पुष्टि

श्रावण ११, २०८१ |टेकराज जोशी
कैलालीमा २ जनामा हैजाको संक्रमण पुष्टि

कैलाली । कैलालीमा दुई जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।

धनगढी उपमहानगरपालिका १, त्रिवेणी चोकमा बस्ने दुई महिलामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुईमध्ये एकजना निको भएर घर फर्किसकेको र अर्का एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

आरडीटी पोजेटिभ देखिएका दुई बालबालिकाको कल्चर रिपोर्ट भने आउन बाँकी छ । हैजा संक्रमण देखिएका बस्तीमा थप परीक्षणको दायरा बढाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

वर्षायाममा विभिन्न ठाउँमा खानेपानीको पाइप फुटेर त्यहीँबाट हैजा फैलिएको आशंका गरिएको छ । हैजा देखिएपछि खानेपानी संस्थानका सबै ट्यांकी सफा गरी औषधि प्रयोग गर्न निर्देशन दिइएको छ । स्थानीय बासिन्दालाई उच्च सावधानी अपनाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

हैजा अत्यधिक चाँडो सर्ने रोग हो । फोहोर पानी तथा फोहोर खानेकुरामा हैजाको जीवाणु पाइन्छ । हैजाको जीवाणु मानिसको शरीरमा छिरेको १२ घण्टादेखि पाँच दिनमा हैजाको लक्षण देखिन थाल्छ ।

यस रोगका बिरामीले समयमै उपचार नपाए मृत्यु हुने सम्भावना बढी हुने भएकाले पानी सकेसम्म उमालेर चिसो बनाएर पिउन र दिसापिसाब गरेपछि सफासँग हात धुन आग्रह गरिएको छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।