स्वास्थ्यमन्त्रीका प्राथमिकता : घुमफिर र सरुवा

सरकारी स्वास्थ्य संस्थाका समस्या ज्युँका त्युँ
असार १३, २०८१ |कृपाल गौतम
स्वास्थ्यमन्त्रीका प्राथमिकता : घुमफिर र सरुवा

काठमाडौं । निवर्तमान स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्री भएकै दिन सरकारी स्वास्थ्य संस्थादेखि लामो लाइन हटाउने उद्घोष गर्नुभएको थियो । त्यो कति पूरा भयो तपाईंहरुले पनि विश्लेषण गर्नुभएकै होला ।

अहिलेका स्वास्थ्यमन्त्री प्रदीप यादवले पनि पदबहालीका दिन अस्पतालहरुको सेवा सुधार र जनशक्ति अभाव हटाउने पहिलो निर्णय गर्नुभएको थियो । गत वैशाख ३१ गते नियुक्त हुनुभएका उहाँको यो ४० दिनका गतिविधि हेर्दा भने उहाँका प्राथमिकता अस्पतालको सेवा सुधारभन्दा पूर्वस्वास्थ्यमन्त्रीहरु जस्तै घुमफिर र कर्मचारी सरुवामै रहेको स्पष्ट भएको छ ।

देशको एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले २०८० फागुन २२ मा फोहोर व्यवस्थापन प्रणाली जडानका लागि टेन्डर आह्वान गर्‍यो । अस्पतालले महँगोमा बोलपत्र आह्वान गरेको भन्दै चौतर्फी आलोचनापछि २०८० चैत १४ गते टेन्डर रद्द गरियो । त्यो बेला अस्पतालका निर्देशक हुनुहुन्थ्यो युवानिधि बसौला । अस्पतालले पुनः २०८१ वैशाख ११ गते टेन्डर आह्वान गरेपछि अहिले त्यसको प्रक्रिया जारी छ ।

स्वास्थ्यमन्त्री प्रदीप यादवले आफ्नो नियुक्तिको ११ दिनमै अस्पतालका निर्देशक बसौलालाई मन्त्रीस्तरीय निर्णय गर्दै कान्ति बाल अस्पताल सरुवा गरी उहाँको ठाउँमा डा. रोशन न्यौपानेलाई ल्याउनुभयो । तीनै न्यौपानेलाई पनि पुनः तीन सातामै सरुवा गरियो र फेरि बसौलालाई नै आर्थिक तथा प्रशासनिक अधिकारसहित टेकु अस्पताल फर्काइयो । टेन्डर प्रक्रिया चलिरहेका बेला भएको पटक-पटकको सरुवाले यहाँ कतै गडबडी त छैन भन्ने आशंका उब्जाएको छ ।

‘प्राय: मन्त्री तथा सचिवहरु फेरिँदा कर्मचारीको हेरफेर हुने गरेका छन् । त्यहीअनुसार कहिलेकाहीँ गरेका सरुवाहरु र सरसल्लाह नराम्रो पाइँदा र पछि त्यो महसुस हुँदा पनि केही फिर्ता भएका उदाहरणहरु हामी देख्छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भन्नुभयो । 

मन्त्री यादवको अर्को निर्णय छ- हालको जनशक्तिबाट सरल रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भएकाले १६ ठूला अस्पतालमा ओएनएम सर्भे अर्थात् संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने ।

तर, राप्ती, भेरी, डडेल्धुरालगायत ६ वटाको अस्पतालको दुई वर्षअघि नै ओएनएम सर्भे भएर स्वास्थ्यले थप प्रक्रियाका लागि पठाइसकेको छ । यसैगरी अन्यको पनि सर्भे भएर मन्त्रालय आउने क्रम जारी छ ।

स्वास्थ्यले दुई सर्भे सकेर पठाएको फाइल अहिले अर्थ तथा संघीय मामिला मन्त्रालयमा पुगेर रोकिएको छ । मन्त्रीको काम ती अड्किएका फाइल अगाडि बढाउन लबिइङ गर्ने हो । तर बुझेर हो कि नबु्झेर प्रक्रिया अघि बढाउन पहल गर्नुको साटो मन्त्री यादवले पुरानै विषयमा पुनर्निर्णय गर्नुभएको छ । ‘इमानदारीपूर्वक काम गर्ने हो भने स्वास्थ्यमा काम गर्न कुनै गाह्रो छैन,’ स्वास्थ्य विभागका पूर्वमहानिर्देशक डा. लक्ष्मीराज पाठकले भन्नुभयो, ‘निजी स्वार्थमा मात्र लिप्त भएर बस्ने हो भने गर्नुपर्ने काम हुँदैन भित्री-भित्री काम मात्र हुन सक्छन् ।’ 

मन्त्रालयका समस्याबारे मन्त्री यादव जानकार नभएको भने होइन । उहाँ नै भन्नुहुन्छ- स्वास्थ्यमा खरिददेखि सेवा प्रवाहसम्मै धेरै समस्या छन् । उहाँले कतिपयको फाइल आफैं अख्तियार लिएर जाने पनि भन्न भ्याइसक्नुभएको छ । तर, मुख्य प्राथमिकता अस्पतालका सेवा-प्रवाह सुधार र नागरिकका समस्यातिर उहाँको ध्यान अझै गएको छैन । सरकार फेरिएको फेरियै गरेका कारण अस्पतालको लाइन हटाउने र स्वास्थ्य सेवा सुधार गर्छु भन्ने मन्त्रीहरुको लाइन बढ्ने तर स्वास्थ्य सेवामा सुधार नहुने दीर्घरोग देखिएको छ र वर्तमान मन्त्री पनि यही लाइनको एउटा पात्र हुने हो की भन्ने आशंका बढेको छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement