बाढीपहिरो र डुबानपछि महामारीको डर

आश्विन १४, २०८१ |कृपाल गौतम
बाढीपहिरो र डुबानपछि महामारीको डर

काठमाडौं । बाढी, पहिरो र डुबानका कारण देशका धेरैजसो ठाउँको जनजीवन कष्टकर छ । विपद्‍मा परेकाहरुलाई खानपिनकै समस्या छ । त्यसमाथि बाढी प्रभावित क्षेत्रमा थुप्रिएको फोहोरले दुर्गन्ध फैलिन थालेको छ । यसबाट महामारी नै फैलिन सक्ने जोखिमसमेत छ । यस्तो बेलामा खानपान र स्वच्छतामा सजग रहनुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन् ।

बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा थुप्रिएको फोहोरको दुर्गन्ध फैलिन थालेको छ । विशेष गरी नदीतटीय क्षेत्रमा यसको प्रभाव बढी छ । व्यवस्थापन गर्न स्थानीय सरकारले प्रयास गरिरहे पनि त्यो पर्याप्त देखिँदैन । यस्तो बेला विपद् प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन सक्ने जोखिम हुन्छ । विशेष गरी दूषित खाना र पानीका कारण हैजा र झाडापखाला फैलिन सक्ने भएकाले सतर्क अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

संक्रामक रोग फैलिन नदिन र जोखिम न्यूनीकरणका लागि आफूहरु तयारी अवस्थामा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 'हामीसँग संयन्त्र छ । केन्द्रदेखी तलसम्म एउटा र्‍यापिड रेस्पोन्स टिम छ,' इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. यदुचन्द्र घिमिरे भन्नुभयो, 'त्यसले महामारीजन्य अवस्थामा रेस्पोन्स गर्ने हो । त्यसलाई हामीले तयार रहन भनेका छौं ।'

सरकारले तयारी अवस्थामा बसेका छौं भन्दाभन्दै पनि संक्रामक रोगको जोखिम फैलिएका उदहारण यसअघि धेरै छन् । यस्तोमा सरकारको भर नपरी आफै सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । चिकित्सकहरुका अनुसार पानी उमालेर, फिल्टर गरेर वा पिउस गरेर मात्र पिउनुपर्छ । तरकारी तथा फलफूल पकाउँदा वा पखाल्दा शुद्ध पानीको मात्र प्रयोग गर्नुपर्छ । सडेगलेका वा बासी खान खानु हुँदैन ।

'खानेकुरा राम्ररी पकाउने, तरकारी तथा फलफूल खाँदा पानीले सफा गरेर खाने,' डा. शेरबहादुर पुन भन्नुहुन्छ, 'पानीलाई शुद्ध गरेर पिउने गरेमा धेरै संक्रमणबाट बच्न सक्छौं र रोग फैलनबाट पनि रोक्न सक्छौं ।

विगतमा पनि बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिएका थिए । यस पटक पनि धेरै क्षेत्र यसको जोखिममा परेकाले स्थानीय सरकारले समेत नागरिकमा सचेतना फैलाउन आवश्यक छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement