हुम्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण, असोजसम्म संक्रमणको जोखिम

आश्विन ८, २०८१ |कृपाल गौतम
हुम्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण, असोजसम्म संक्रमणको जोखिम

काठमाडौं । सन् २०२४ अर्थात् २०८० साल पुसयता देशभर १२ हजार ६ सय ४४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भइसकेको छ । हुम्लाबाहेक देशका सबै जिल्लामा यो वर्ष संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमण असोजसम्म नै रहने भएकाले संक्रमितको संख्या अझ बढ्ने सम्भावना छ । संक्रमितमध्ये कतिपयलाई भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था हुन्छ भने सामान्य अवस्थामा रहेकालाई चिकित्सकले घरमै बसेर आराम गर्ने सल्लाह दिने गरेका छन् ।

थानकोटका तुफान खड्कालाई ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिएपछि परीक्षण गर्दा डेंगी संक्रमण भएको पुष्टि भयो । संक्रमणले धेरै नै गालेपछि उहाँ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना हुनुपर्‍यो । ६ दिन भर्ना भएर स्वास्थ्यमा केही सुधार देखिएपछि अस्पतालले आइतबार डिस्चार्ज गरेको छ । तर चिकित्सकले २ दिनपछि पुनः परीक्षणका लागि बोलाएका छन । डेंगी संक्रमणले उहाँलाई निकै गलाएको छ ।

डेंगी संक्रमणपछि ६ दिनको अस्पताल बसाइबाट डिस्चार्ज भएकी त्रिसुलीकी प्रविना रिमालको पनि उस्तै अनुभव छ । संक्रमण ठिक भए पनि अहिले उहाँलाई धेरैबेर उभिनसमेत गार्हो हुने गरेको छ ।

चिकित्सकहरुका अनुसार अस्पतालमा डेंगी संक्रमण भएर आउने बिरामीमध्ये कसैलाई ज्वरो आउने, टाउको तथा शरीर दुख्नेमात्र समस्या छ भने त्यस्ता बिरामीलाई घरमै सावधानी अपनाउनु भनेर पठाइन्छ । तर प्लेटलेट्स निकै कम भएका, रगत बग्ने, कडा पेट दुख्ने र तारन्तार बान्ता हुने लगायतका बिरामीलाई भर्ना गरिन्छ। कतिपयलाई त आइसीयूमै राखेर उपचार गर्नुपर्ने समेत हुन सक्छ । यसरी कडा संक्रमण भएर निको भएका बिरामी कतिपयलाई पछिसम्म पनि स्वास्थ्यमा समस्या देखिने गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बस्यौलाले भन्नुभयो-‘डेंगी मात्र छ भने त्यती असर गर्दैन । नर्मल लाइफमा गइ हाल्छ । डेंगी हेमोरेजीक फिभर भए अलिक लामो समय लेला । कत्तिकोचै जिउ दुख्ने समस्या लामो समय सम्म आउँछ । बिरामीलाइ जिउ दुख्ने समस्या लामो समय सम्म आयो, अरु अंग मिर्गौला, कलेजोमा असर गर्या छ भने लामो समय सम्म जान्छ र रेस्ट गर्ने भनेर हामिले भन्छौं ।’

सन् २०२४ यता अर्थात् २०८० पुसयता देशभर साढे १२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ । संक्रमणकै कारण ६ जनाले ज्यान गुमाइसकेका छन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेका अनुसार असोजसम्म नै डेंगी संक्रमणको जोखिम छ ।

डेंगी संक्रमण नियन्त्रणमा तीनै तहका सरकारको आ-आफ्नै भूमिका भए पनि समन्वय तथा सहकार्यको अभावका कारण संक्रमण नियन्त्रण हुन सकिरहेको छैन, जसको प्रत्यक्ष मारमा आमनागरिक परेका छन् ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement