५ प्रदेशका ८० स्वास्थ्य संस्थाहरुमा २६ सय ४५ उपकरण प्रयोगविहीन

१४ प्रतिशत उपकरण जडान नै भएनन्
जेष्ठ १७, २०८१ |कृपाल गौतम
५ प्रदेशका ८० स्वास्थ्य संस्थाहरुमा २६ सय ४५ उपकरण प्रयोगविहीन

काठमाडौं । स्वास्थ्य क्षेत्रको एक प्रमुख समस्या हो- उपकरण भएर पनि सञ्चालन नहुनु । बिरामी एउटा अस्पतालमा छटपटाइरहेको हुन्छ उपकरण अर्को अस्पतालमा प्रयोगविहिन हुन्छ । कार्यविधिको अभाव देखाउँदै प्रयोगविहीन उपकरण अर्को ठाउँमा स्थानान्तरण गर्नै सकिँदैन । सरकारले हालै ५ प्रदेशका विभिन्न अस्पतालमा रहेका उपकरणको सर्वेक्षण गरेको छ । जसमा प्रयोगविहीन भएर थन्किएका कयौं उपकरण भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार ५ वटा प्रदेशका १९ हजार १ सय ७४ उपकरणको सर्वेक्षण गर्दा २६ सय ४५ उपकरण सञ्चालन नभएको पाइएको छ । मन्त्रालयले बागमती, कोशी, मधेस, सुदूरपश्चिम र गण्डकी गरी ५ वटा प्रदेशका ८० वटा स्वास्थ्य संस्थाहरुमा गतवर्ष कात्तिक देखि फागुनसम्म गरेको स्वास्थ्य उपकरणहरुको स्थितिबारे सर्वेक्षणमा यस्तो तथ्य बाहिर आएको हो । उपकरणहरु सञ्चालनमा नआउँदा सेवाग्रही भने मारमा परिरहेका छन् र यसको प्रत्यक्ष असर बिरामीलाई परेको छ ।

'हामी अस्पतालमा चेक जाँच गर्न जाँदा डाक्टरहरुले तपाईं एक्स-रे, सिटी स्क्यानलयायतको चेक गराउनुभन्दा हामीले त्यो सुविधै पाउादैनौं । सिटी स्क्यानमा जाँदा त्यो विग्रेको छ, एक्स-रेमा जाँदा त्यो बिग्रेको छ । यो सानो सानो कुराले गर्दा हामीले धेरै पिडा भोगी राख्नुपरेको छ,' वीरगञ्जका स्थानीय देवनाथ शर्माले भन्नुभयो ।

५ प्रदेशमा सर्वेक्षण गर्दा ६ प्रतिशत राम्रो अवस्थामा रहे पनि प्रयोगविहीन छन् । ९ प्रतिशत सामग्री बिग्रिएपछि मर्मत गरिएको छैन भने १४ प्रतिशत त जडाननै भएको छैन । यी उपकरणमध्ये ५० प्रतिशतभन्दा बढी कोभिडका बेला खरिद तथा अनुदानमा ल्याइएको थियो । यस्ता सामग्रीको कसरी सही प्रयोग गर्ने भन्ने ठोस योजना सरकारसँगै छैन ।

यहीकारण एकातिर बिरामीलाई चाहिएका बेला अस्पतालहरुमा सहजै भेन्टिलेटर पाइँदैन भने अर्कातिर कतिपय अस्पतालमा त्यतिकै थन्किएर रहेका छन् । भक्तपुर अस्पतालमा कोभिड महामारीका बेलानै ल्याइएका तीन वटा भेन्टिलेर प्रयोगविहीन छन् । भेन्टिलेटरले अक्सिजन लेभल नै नदेखाएको भन्दै थन्क्याइएको छ ।

जबकि यी भेन्टिलेटर सामान्य मर्मतमै प्रयोग गर्न सकिन्छ । प्रदेश सरकारले दिएको अल्ट्रासाउन्ड मेसिन पनि बिग्रिएपछि मर्मत नगरी अस्पतालले थन्क्याएको छ । 'केही सामान डिफेक्टिभ थिए, ती प्रयोग नगरिएको हो । सुरुमा आइसीयूमा बिरामी धेरै थिए, हामीले चलायौं पनि,' भक्पुतर अस्पतालका निर्देशक डा. सुमित्रा गौतम भन्नुहुन्छ, 'तर एकदमै लो क्वालीटिको भएकाले चलाउने अवस्थानै छैन, त्यसरी थन्केको छ ।'

डडेल्धुरा अस्पतालमा जडान गरिएको डाइलाइसीस मेसिन जनशक्ति अभावको बहानामा सञ्चालन हुन सकेको छैन । डडेलधुरा अस्पताल मेडिकल सुपरिटेन्डेन्ट सन्तोषकुमार गुप्ताले जनशक्ति र ठाउँको अभावमा डाइलाइसिस सेवा सञ्चालन गर्न नसकेको बताउँनुभयो । 'डाक्टरहरुको व्यवस्थापन नहुँदा, अर्को डाक्टर यहाँ आइदिएको भए सञ्चालन गर्न सकिन्थ्यो । त्यसैगरी ठाउँ अभाव हुँदा डाइलाइसिस सेवा हामीले सञ्चालन गर्न सकेका छैनौं,' उहाँले भन्नुभयो ।

यस्तै पाँचथर अस्पताललाई चारवर्ष अघि उपलव्ध गराएको आईसीयू र भेन्टिलेटर सञ्चालन हुन सकेका छैनन् । सरकारले सामान खरिदमा निकै चासो दिन्छ । तर कानुनी जटिलता देखाउँदै प्रयोगविहीन उपकरणलाई प्रयोगमा ल्याउन सक्दैन । ५ प्रदेशका अस्पतालहरुमा गर्दा सर्वेक्षण नै यति धेरै उपकरण प्रयोगविहीन भएको देखिएको छ । अझ थप दुई प्रदेशमा पनि यस्तै अवस्था नहोला भन्न सकिन्न ।

स्वास्थ्य सेवा विभागका कर्मचारी भने यसलाई व्यवस्थित गर्न तर्फ लागेको दाबी गर्छन् । 'के-के समस्या छन, त्यो जानकारी भयो । र त्यो इस्यूलाइ एडेस गर्न के के गनु पर्छ भन्ने पहिचान भयो । अब नयाँ वर्षको बजेटमा त्यो प्रस्ताव गर्‍या छौं,' सेवा विभाग आपुर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले भन्नुभयो, 'विस्तारै यस्लाइ व्यवस्थित गरेर अब कुनै पनि उपकरण थन्केर बस्ने अवस्था नहोस् भन्ने तिर हामी लाग्या छौं ।'

स्वास्थ्य उपकरण खरिदमा हुने चलखेल र भ्रष्टाचार तपाईं हामी सबैले थाहापाएकै कुरा हो । यस सम्बन्धमा अख्तियारमा उजुरीका चाङ छन् । अर्कोतर्फ राजनीतिक पहुँचका आधारमा नेतृत्वले महंगा उपकरण किन्न दबाब दिने वा किनेर जिल्ला जिल्ला पुर्‍याउने तर त्यो उपकरण चलाउने जनशक्ति नहुँदा धेरै उपकरण त्यतिकै थन्किनएका छन् । यो भन्दा पनि मुख्य कुरा एकपटक एउटा अस्पतालमा पुगेको उपकरण अर्को स्थानमा लैजाने कार्यविधि नै नभएका कारण कतै उपकरण थन्किरहेका छन् कतै बिरामी उपचार नपाएर छटपटाइ रहेका छन् ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।