
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ लोखरमस्थित मुसहर बस्तीमा हैजाको संक्रमण फैलिनुको मुख्य कारण सरसफाइ र खानेपानी अभाव देखिएको छ ।
संक्रमितहरूको अवस्था सुधार हुँदै जाँदा सरोकारवालाले बस्तीमा खानेपानी र सरसफाइसम्बन्धी सचेतनाको टड्कारो खाँचो देखेका छन् । यो दृस्य सप्तरीको लोखरमस्थित विपन्न मुसहर बस्तीको हो । जहाँ झाडापखालाको संक्रमण फैलिँदै हैजासम्म पुगेको छ । तर उक्त मानव बस्तीको हालत भने यस्तो दयनीय छ ।
यहाँ हैजा संक्रमणबाट एकै परिवारको ज्येष्ट नागरिकसहित दुई कलिला बालबालिकाको ज्यान गइसकेको छ । लोखरममा हैजा फैलिनुको मुख्य कारण जनचेतना अभावले सरसफाई नराख्नु र शुद्ध खानेपानीको व्यवस्था नहुनु नै हुन् । अहिले पनि प्रभावित बस्तीको ठाउँ-ठाउँमा पानी जमेको छ भने शौचालयसमेत छैनन् ।
जबकी सप्तरी जिल्ला नै यसअघि खुला दिसामुक्त घोषणा भइसकेका छन् । मानिसले कुनै पनि माध्यमबाट दिसा खाएको अवस्थामा हैजाको संक्रमण हुने गदर्छन् । अहिले गरिएको र्यापीड डायग्नोस्टिक टेस्टले ५ जनामा हैजा पुष्टि भए पनि कल्चर रिर्पोट आउन बांकी छ । तर, कीटबाट गरिएको टेस्टले ९० प्रतिशत हैजा नै हुने सम्भावना रहेको र आवश्यक सरसफाइसहितका ब्यवस्थापनमा हेलचक्रयाइँ गर्न नहुने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
यता कीट प्रविधिबाट संक्रमित पहिचान हुनेहरूलाई सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकास्मिक कक्षमा भर्ना गर्ने गरिएको छ । तर संक्रमितलाई छुट्टै राख्नुपर्नेमा बेड र जनशक्ति अभावले अरू रोगीसँगै एकै ठाउँमा राखेर उपचार भइरहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म संक्रमितमध्ये १८ जनाको स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको छ भने अस्पताल भर्ना भएका सिकिस्त ५ जनामध्ये चार जनाको अवस्था सुधारन्मुख हुँदै गएको छ । यस्तै संक्रमण रोकथाम गर्ने उद्देश्यले पालिकाबाट सामान्य प्रभावितलाई पनि बस्तीमै उपचार तथा औषधीको व्यवस्था मिलाइएको जनाइएको छ ।
यता, पालिकाले जे जसो भने पनि बस्तीमा जमेको पानी यथावतै छ भने सरसफाइको काम नहुँदा फोहोर पनि जस्ताको त्यस्तै छ । बस्तीमा मंगलबारसम्म शौचालयकोसमेत व्यवस्थापन हुन सकेको छैन ।