सप्तरीमा हैजाको प्रकोप नियन्त्रण गर्न चिकित्सको टोली खटियो

हैजा प्रभावित बस्तीमा पानी शुद्धीकरणका लागि फिल्टर वितरण
कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सप्तरीमा हैजाको प्रकोप नियन्त्रण गर्न चिकित्सको टोली खटियो

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ लोखरमस्थित मुसहर बस्तीमा दुई सातादेखि फैलिएको हैजाको प्रकोप सुधारन्मुख भए पनि अझ पूर्णरूपमा नियन्त्रणमा आउनसकेको छैन ।

अहिले पनि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सात जनाको उपचार भइरहेको छ । त्यस्तै लोखरमस्थित स्वास्थ्यचौकीमा दुई जनाको भर्ना गरेर उपचार थालिएको छ भने नाै जनालाई चिकित्सकको निगरानीमा घरमै राखेर उपचार भइरहेको छ । 

स्वास्थ्य विभागले बिहीबारदेखि लोखरममै एक जना एमएमबीबीएस चिकित्सकलाई परिचालन गरेको र पालिकाका अन्य स्वास्थ्यकर्मीसँगै उपचारसहित औषधि वितरणको कार्य पनि गरिरहेको छ । यसअघि आरडीटी प्रविधिबाट हैजा प्रमाणित भएकाहरूमा प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको कल्चर परीक्षणमा पनि हैजा पुष्टि भइसकेको छ । 

अहिलेसम्म हैजा फैलिनुको कारण पत्ता नलागे पनि बस्तीमा शौचालय नभएको, फोहोरको दुर्गन्ध र खानेपानीको चरम अभाव देखिएको छ । पालिकाले गैरसरकारी संस्थाको सहयोगमा सरसफाइ सुरू गरेको छ भने पानी शुद्धीकरणका लागि ३० वटा फिल्टर वितरण गरेको जनाएको छ ।

यस्तै पालिकाले स्वास्थ्य कार्यालयसँगको समन्वयमा संक्रमित बस्तीको चापाकल, पोखरी र खोला गरी सातवटा पानीको नमूना परीक्षणको काम पनि थालेको छ । हैजा कङ्क्रमित ४४ जना उपचारपछि घर फर्किसकेका छन् । झाडापखालाबाट गत कात्तिक ६ गते लोखरमका बुचन सदाका एक वर्षका छोरा, ११ गते ६६ वर्षीय बुबा र १४ गते चार वर्षीया छोरीको उपचार अभावमा ज्यान गएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.