काठमाडौं । वायु प्रदूषण तथा गर्मीका कारण देशैभर बालबालिका बिरामी हुने दर बढेको छ । काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पतालका अनुसार दैनिक ८ सयको हाराहारीमा बिरामी आउने गरेकोमा अहिले १४ सयसम्म उपचारका लागि पुग्ने गरेका छन् ।
वायु प्रदूषण बढेसँगै बालबालिकामा आँखा चिलाउने, खोकी लाग्ने, घ्यारघ्यार हुने र दमको समस्या देखिने गरेको छ । दैनिक २५ जनासम्मलाई भर्ना नै गर्नुपर्ने अवस्था रहेको र आईसीयूको भर्नासमेत बढेको अस्पतालले जनाएको छ ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा झाडापखाला, बान्ता र टाइफाइडबाट सबैभन्दा बढी बालबालिका प्रभावित छन् । विराटनगरको कोशी अस्पतालका विभिन्न विभागमा तीन सयभन्दा बढी बालबालिका उपचारका लागि पुग्ने गरेका छन् भने बाल रोग विभागमा दैनिक एक सय जनाभन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । भाइरल ज्वरो, झाडापखाला तथा कडा निमोनिया भएका बिरामी बढिरहेको अस्पतालहरुले जनाएका छन् ।
वायु प्रदूषणका कारण बालबालिकामा देखिएका समस्या पानी परेमा वा प्रदूषण कम भएको एक हप्तामा निको हुने तर दीर्घ समस्या भएका बालबालिकालाई भने ठीक हुन केही समय लाग्ने चिकित्सक बताउँछन् ।