काठमाडौं । ४ सय वर्षभन्दा लामो इतिहास बोकेको सिंहदरबार वैद्यखानामा नियमित औषधि उत्पादन ठप्प भएको ३ वर्ष बितिसक्दा पनि सरकारले चासो देखाएको छैन ।
स्वास्थ्य मन्त्रालय मातहत पर्ने वैद्यखानाको अवस्था जीर्ण भए पनि सरकारले समस्या समाधानका लागि चासो नदिएको हो । विगतमा १ सय ५० खालकासम्म औषधि उत्पादन हुने वैद्यखानामा १ महिनाअघि केही कच्चा पदार्थ सोझै खरिद गरी च्यवनप्रास बनाए पनि निरन्तरता पाएको छैन ।
वैद्यखाना विकास समितिअन्तर्गतका कर्मचारीको तलबभत्तामै २० लाख रुपैयाँ खर्च हुने गरे पनि आम्दानी नगण्य रहेको समितिको भनाइ छ । बजेट नभएका कारण कच्चा पदार्थ खरिद गर्न नसक्दा यो समस्या देखिएको र मन्त्रालयले पनि उपेक्षा गरेको समितिका पदाधिकारी गुनासो गर्छन् ।
पहिले उत्पादन भएका केही औषधि स्टक रहे पनि बजारको माग धान्ने खालको छैन । पटक-पटक आउँदा पनि औषधि पाउन छाडेपछि उपभोक्ताहरू आजकाल आउनै छाडेको वैद्यखानाका बिक्री काउन्टरका कर्मचारी बताउँछन् ।
सिंहदरबार वैद्यखानामा उत्पादन भएका आयुर्वेदिक औषधिको विगतमा विदेशमा समेत उच्च माग थियो । तर, विकास समितिमै देखिएको आन्तरिक विवाद र स्वास्थ्य मन्त्रालयको बेवास्ताका कारण वैद्यखाना अहिले बन्द हुने स्थितिमा पुगेको छ । अहिले आयुर्वेदिक औषधिको अधिकांश बजार हिस्सा विदेशी औषधिले ओगटेका छन् ।