पोषणमा बर्सेनि डेढ अर्ब खर्च हुँदा पनि प्रतिफल निराशाजनक

मधेशमा मात्रै ६६ प्रतिशत बालबालिकामा कुपोषण
बजारिया खानाले कम तौल र पुड्कोपनको समस्या
चैत्र २१, २०८० |अमरकान्त ठाकुर
पोषणमा बर्सेनि डेढ अर्ब खर्च हुँदा पनि प्रतिफल निराशाजनक

जनकपुर । जन्मने बित्तिकै स्वास्थ्य बालबालिका होस् भन्ने उद्देश्य साथ तीनै तहका सरकारले पोषण आहारका लागि काम गर्दै आएको छ । तर पनि मधेश प्रदेश लगायत देशभरि नै बच्चाहरू कुपोषणका सिकार भइरहेका छन् । कुपोषणका कारण लुम्बिनी प्रदेशमा बालबालिकामा होचो हुने समस्या बढी छ भने मधेश प्रदेशमा हरेक दश बच्चामा चार जना कुपोषित छन् । 

धनुषाको मिथिला विहारी ५ ललिया वस्ने ईश्वर मुखियाको साढे २ वर्षको छोरा कुपोषणबाट ग्रसित छन् । उनको उपचार अहिले जनकपुर प्रादेशिक अस्पतालको एचडियू वार्डमा भइरहेको छ । गरिबी र अशिक्षाका कारण समयमै जानकारी नभएकाले मुखियाको कान्छो छोराको अवस्था नाजुक भएको हो । कुपोषणको सिकार मात्रै नभएर अहिले ईश्वरका छोरामा ब्रेन ट्युमर र टिबी रोग पनि छ ।

आमा गर्भावस्थामा भएदेखि नै पोषणयुक्त आहारमा विशेष ध्यान नदिँदा बच्चा कुपोषित हुने बढी जोखिम हुन्छ । चिकित्सकहरूको अनुसार मधेश प्रदेशमा हरेक १० बच्चामा ३-४ जना बच्चा कुपोषण रहेको पाइएको छ । यो समस्या ६ महिना देखि ५ वर्षको बच्चामा बढी देखिएको छ ।  

मधेश प्रदेशबाहेक कर्णालीको जाजरकोटमा पनि पछिल्लो ६ महिनामा २९ जना बालबालिकामा कुपोषण देखिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको अनुसार गत साउन महिनादेखि फागुन सम्ममा १० जना बालक र १९ जना बालिकामा कुपोषणको सङ्क्रमण देखिएको हो । कर्णालीमा कुपोषित बालबालिका सङ्ख्या बढिरहेको छ । 

कुपोषित बच्चा तथा आमहरूलाई पोषणयुक्त आहार प्रदान गर्न सरकारले पोषण पूनर्स्थापन गृह खोलेका छन् । जसमा १०-१० जना आमा र बच्चालाई बढीमा दुई हप्तासम्म राखेर पोषणयुक्त आहार र उपचार गर्ने गरेको छ । तर कुपोषित बच्चा र आमाको चाप बढ्दै गएपछि भौतिक पूर्वाधार लगायत खाने बस्नेको समस्या हुने गरेको छ । 

कुपोषणको प्रमुख कारण गरिबी, अशिक्षा, कम उमेरमा विवाह, गर्भावस्थामा पोषणयुक्त खानेकुराको अभाव, नियमित स्वास्थ्य चेकजाँच नगर्नु, जन्मान्तर कम हुनु, धेरै सन्तान जन्माउनु, खानेकुराको मात्रा नमिल्दा कुपोषण हुने गरेको छ । जुनसुकै उमेर समूहका व्यक्तिलाई कुपोषण भएता पनि विशेष गरी जोखिमयुक्त बालबालिकाहरूमा अझ धेरै हुने गरेको छ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।