बिग्रिएको सडकमा राेपाइँ, स्थानीयको सिर्जनात्मक विरोध

असार २९, २०८३ |अमृता अनमोल
बिग्रिएको सडकमा राेपाइँ, स्थानीयको सिर्जनात्मक विरोध

रुपन्देही । विरोधका शैली धेरै प्रकारका हुन्छन् । 

बिग्रिएको सडक सरकारले मर्मत नगरेपछि आजित भएका रुपन्देहीको सियारीबासीले भने सोमबार सडकमा धान रोपेर विरोध जनाएका छन्। यो सिद्धार्थ राजमार्गबाट ओमसतिया हुँदै सियारी जोड्ने सडक हो। संघीय सरकारले दुई लेनमा विस्तार गरेको सडक त्यसपछि मर्मत सम्भार नगर्दा खाल्डाखुल्डीले खेत जस्तै बनेको छ। 

हिलाम्मे सडकमा दुर्घटना बढेपछि सियारी गाउँपालिका १ का स्थानीले सोमबार सडकमा धान रोपेर विरोध गरेका हुन्। सिद्धार्थ राजमार्गबाट ओमसतिया सियारी हुँदै तिलोत्तमा जोड्ने यो सडक संघीय सरकारले २०७० सालमा चार लेनमा निर्माण गरेको थियो । 

करिब ३० किलोमिटर लम्बाइको यो सडकमध्ये सियारी १ मा पर्ने साढे सात किलोमिटर सडक बिग्रिएर बिजोग बनेको छ । सडक बनाउन स्थानीय धेरै पटक पालिका धाए । नेता भेटे । तर, दैनिक ठूला उद्योगका मालबाहक सवारी गुड्ने सडक बिग्रिएर यो अवस्थामा आउँदा पनि मर्मतसम्भारमा कसैले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

उसोत, सडक मर्मतका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले तीन करोड बजेट विनियोजन गरेको थियो । तर, जेन-जी आन्दोलनपछि सो बजेट कार्यान्वयनमा नलैजाँदा सडक बन्न नसकेको हो । सोमबार स्थानीयले सियारी खण्डको सडकमा धान रोपेर सडक अवरोध गरेपछि ओमसतिका गाउँपालिका १ का वडाअध्यक्ष र गाउँपालिकाका अध्यक्ष, कर्मचारीलगायत त्यहाँ पुगेका थिए । 

स्थानीयले उनीहरुसामु पनि सडक बिग्रँदा दु:ख पाएको आक्रोश पोखेका थिए । पदाधिकारीले तत्काल सडक मर्मत गर्ने प्रतिबद्धता जनाएपछि बल्ल स्थानीय केही रोकिएका थिए । सिद्धार्थ राजमार्गबाट ओमसतिया सियारी हुँदै तिलोत्तमा जोड्ने यो सडक विस्तारमा आगामी वर्षका लागि पनि संघीय सरकारले २ करोड ५० लाख बजेट विनियोजन गरेको छ । 

सरकारले सडक निर्माणमा बजेट छुट्याउने मात्र होइन समयमै मर्मत सम्भार पनि गरेर नागरिकलाई सुविधा दिनुपर्छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।