काठमाडौं । काठमाडौंमा रहेका केही सञ्चारमाध्यमका कार्यालयहरुमा साेमबार अनौठो दृश्य देखियो।
कान्तिपुर पब्लिकेसन्सको तिनकुनेको कार्यालय, बानेश्वरको हिमालय टिभीको कार्यालय र अनलाइनखबर डटकमको बुद्धनगरस्थित कार्यालयमा शंकास्पद रुपमा गाडी पार्किङ गरेर अवरोध सिर्जना गरिएको छ। यसरी सवारी पार्किङ गर्नेहरु बेपत्ता छन् भने सम्पर्कमा आएका सवारी धनीहरुले जिम्मेवारी लिएका छैनन् ।
कान्तिपुर पब्लिकेसन्सको गेट ढाकिने गरी पार्किङ गरिएको गाडी भने सत्तारुढ दल रास्वपाकै नेताको भएको खुलेको छ। सञ्चारमाध्यमबाहेक पनि काठमाडौंका विभिन्न स्थानमा अज्ञान व्यक्तिहरुले सडकमै सवारी पार्किङ गरेर छोडेका छन्। प्रहरीले यसबारे ढिलो गरी प्रतिक्रिया जनाएको छ र अनुसन्धान अघि बढाएको दाबी गरेको छ।
घटनाको प्रकृतिले सञ्चारमाध्यमहरुमाथि दबाब सिर्जना गर्न खोजिएको हो कि भन्ने अनुमान गरिएको छ तर यस्तो कार्यमा कसको संलग्नता छ भन्ने स्पष्ट नभएकाले निष्कर्ष निकाल्न हतार हुने प्रहरीको तर्क छ।
सोमबार बिहान सवा ७ बजेतिर मास्क र कालो चस्मा लगाएका एकजना व्यक्तिले कान्तिपुर मिडिया ग्रुपको तिनकुनेस्थित कार्यालयको गेटनै ढाकिने गरी गाडी पार्क गरेर भागे। प्रदेश–०१ ०३४ च ८४८० नम्बरको त्यो गाडी लिएर आएका व्यक्तिलाई कान्तिपुरका सुरक्षा गार्डले सचेत गराउँदा गराउँदै भागेका हुन्।
गाडी पार्क गरेर भागेका ती व्यक्तिको पहिचान खुलेको छैन। तर, सवारी धनी भने रौतहटका रवि जयसवाल भएको खुलेको छ। जयसवाल सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका मनोनीत सदस्य हुन् ।
रास्वपामा काठमाडौंका तत्कालीन मेयर वालेन्द्र शाहको समूहको एकीकरण भएपछि जयसवाल यो विभागमा मनोनीत भएका थिए । कान्तिपुरसँग कुराकानीमा जयसवालले कान्तिपुर अगाडि पार्क गरेको गाडी आफूले दुई महिनादेखि प्रयोग गरिरहेको स्वीकार गरे। तर, गाडी आइतबार आफ्ना राजीव श्रेष्ठ नामका साथीले लिएर गएको दाबी जयसवालले गरे।
गाडी लिन आउन पटकपटक आग्रह गर्दा जयसवालले नसक्ने बताए। रौतहटको गरुडा नगरपालिका–४ का जैसवालको चन्द्रनिगाहपुर र गरुडामा मेसिनरीको व्यापार छ । २०७९ को आमनिर्वाचनमा मधेश प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जयसवाल पराजित भएका थिए ।
उनका बुवा कन्थमणि जैसवाल २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेबाट गरुडा नगरपालिकाको नगरप्रमुखमा जितेका थिए । करिब साढे १२ बजेतिर कान्तिपुर प्रशासनले क्रेन बोलाएर गाडी हटाएको थियो । गाडी पार्क गरिएका कारण करिब ५ घण्टा कार्यालयभित्र सवारी राख्न बाधा पुगेको रिपोर्टिङमा पत्रकारहरू गाडी लिएर जान सकेनन् ।
कार्यालय पुगेका कर्मचारीहरु शंकास्पदा गाडीका कारण त्रस्त भएका थिए। कार्यालयको गेटै छेक्ने, आवतजावत नै रोकिने गरी राखिएको गाडी हटाउन ट्राफिक प्रहरीले आलटाल गरेको प्रहरीले गाडी धनीको विषयमा अनुसन्धान जारी रहेको बताएको छ ।
उता हिमालय टेलिभिजनको बानेश्वरस्थित कार्यालयमा पनि उस्तै घटना देखियो। हिमालयको कार्यालयको गेटै अगाडि बिहान ५ बजेतिर बा २ च १२५५ नम्बरको गाडी कसैले पार्क गरेर छोडेको त्यहाँका सुरक्षा गार्डले बताए। अनलाइनखबर डट कमको कार्यालयमा पनि बिहानै ९ बजेतिर बा १२ च ८५४५ नम्बरको गाडी त्यसैगरी शंकास्पद रुपमा पार्क गरेर छोडेको पाइयो।
अनलाइनखबर डटकमका प्रधान सम्पादक बसन्त बस्नेतले सञ्चारगृहमा कसले गाडी राख्यो भन्नेमा गम्भीर अनुसन्धान हुनुपर्ने बताउनुभयो। सत्तानिकट मानिसहरुको प्रोत्साहन नभइ यस्तो कार्य हुन नसक्ने भन्दै यसबारे गम्भीर अनुसन्धान हुनुपर्ने बताउनुभयो।
सडकमा समेत यातायात अवरोध हुने अवस्था आउँदा पनि प्रहरीले सात घण्टासम्म आलटाल गरेको बस्नेतको भनाइ छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी सुशीलसिंह राठौरले सञ्चारमाध्यमका गेटमा राखिएका शंकास्पद गाडीलाई उठाएर उपत्यका ट्राफिक प्रहरी कार्यालय, रानीपोखरी ल्याउन निर्देशन दिइएको कान्तिपुरलाई बताए ।
नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न माग गरेको छ।
सञ्चारमाध्यमका कार्यालयबाहेक सोमबार अनामनगर, रातोपुललगायतका स्थानमा पनि शंकास्पद रुपमा गाडी पार्किङ गरेर अवरोध सिर्जना गरिएको छ। प्रहरी प्रवक्ता पवन भट्टराईले शंकास्पद गाडीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताउनुभएको छ। तर, प्रहरीले हालसम्म कुनै ठोस निष्कर्ष भने निकाल्न सकेको छैन।