काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको छ ।
बिहीवार मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य सम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको हो । रास्वपाले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क कार्यक्रमको 'डुप्लिकेसन'बाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ ।
यस्तै, स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी अझ सशक्त, सहज र पारदर्शी बनाउनका लागि एउटा स्वतन्त्र 'थिङ्क ट्याङ्क' बनाउनुपर्ने रास्वपाको सुझाव छ । यसैगरी, बिमित एवं सेवा प्रदायकको सूचना तथा सञ्चारका लागि तीन अंकको हटलाइनको व्यवस्था गर्नपर्ने जस्ता सुझाव रास्वपाले स्वास्थ्यमन्त्रीलाई बुझाएको छ ।
रास्वपा सांसद डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रका समस्या र त्यसको समाधानका लागि आफूहरुले सुझावपत्र बुझाएको बताइन् । उनले भनिन्, 'वीर अस्पतालमा दैनिक रुपमा २७/२८ वटा आईसीयू र भेन्टिलेटरसहितका बेड खालि रहने तर आमनागरिक ती सेवाको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाबारे स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका छौं ।'
सांसद कार्कीले आफ्नो पार्टीमा चिकित्सक र विज्ञहरु रहेको जनाउँदै स्वास्थ्य क्षेत्रलाई कसरी अगाडि लैजाने खाका बनाएकाले सरकारको सहयात्रीका रुपमा स्वास्थ्यमन्त्रीसँग सहयोगी र सहकार्यको अपेक्षासहित सुझावपत्र बुझाएको जानकारी दिइन् ।
उनले ठूला सरकारी अस्पतालमा आम नागरिकले पाउने सेवाहरु अनलाइन माध्यमबाट हेर्न मिल्नेगरी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको जनाइन् ।