बालबालिकामा कुपोषण देखिएपछि पोषण सुधार केन्द्र सञ्चालन

चैत्र १२, २०८० |पोषनाथ अधिकारी
बालबालिकामा कुपोषण देखिएपछि पोषण सुधार केन्द्र सञ्चालन

धादिङ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिकाले पोषण सुधार केन्द्र सञ्चालनमा ल्याएको छ । सीमान्तकृत चेपाङ समुदायका बालबालिकामा अत्याधिक कुपोषणको समस्या देखिएपछि गाउँपालिकाले पोषण सुधार केन्द्र सञ्चालनमा ल्याएको हो ।

धादिङको चरौंदीमा रहेको आवासीय पोषण सुधार केन्द्रमा कुपाषित बालबालिकाको उपचारसमेत गरिन्छ । केन्द्रमा हालसम्म २९ जनाको उपचार गरिसकेको छ । गाउँपालिकाले अहिले एकपटकमा १० जनाको उपचार गरिरहे पनि यसको क्षमता विस्तार गरी २० जना पुर्‍याउने तयारी गरेको स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङले जनाए । उनका अनुसार सुधार केन्द्रमा कुपोषित बालबालिकासहित अभिभावकलाई समेत राखेर पोषणयुक्त खानेकुरा खुवाउने र उपचार गर्ने गरिएको छ ।

दुई छाक खान धौ-धौ रहेका चेपाङ समुदाय आफ्ना बालबालिकालाई खानेकुरा र उपचारको व्यवस्था भएपछि दंग छन् । कुल जनसंख्याको ३८ प्रतिशत चेपाङ समुदायको बसोबास रहेको गाउँपालिकामा एकातिर गरिबी अर्कोतर्फ अशिक्षा र चेतनाको कमीका कारण बहुविवाह, बालविवाह गर्नेको संख्या पनि धेरै रहेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया बताउँछन् । कम उमेरमा बच्चा पाउने र जन्मान्तरमा ध्यान नदिने समस्यासमेत रहेको उनको भनाइ छ ।

स्थानीयको स्वास्थ्य सुधारप्रति पालिकाको यो प्रयासलाई स्थानीयले प्रशंसासमेत गरेका छन् । आफ्नै उत्पादनले जीविका चलाउन कठिन चेपाङ बस्तीमा पोषिलो खानेकुरा अभावले जन्मिएका बालबालिका कुपोषणको सिकार हुँदा यसको प्रभाव दीर्घकालसम्म पनि गाउँपालिकामा पर्ने भन्दै विभिन्न संघ-संस्थाको सहयोगमा पोषण सुधार केन्द्र सञ्चालन ल्याइएको हो ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement