खोटाङमा पचास शैय्याको अस्पताल निर्माण हुँदै

चैत्र ११, २०८० |कान्तिपुर टीभी संवाददाता
खोटाङमा पचास शैय्याको अस्पताल निर्माण हुँदै

काठमाडौं । जिल्ला अस्पताल खोटाङलाई ५० शैय्यामा स्तरोन्नति गर्नेगरी भवन निर्माणको काम पुनः सुरु भएको छ । गत पुसदेखि भवन निर्माणको काम रोकेर सम्पर्कविहीन भएको निर्माण कम्पनी श्यामसुन्दर रामसागर नेपाल फूलबारी जेभीले तीन महिनापछि फेरि काम सुरु गरेको हो ।

बिना जानकारी सम्पर्कविहीन भएका ठेकेदार तीन महिनापछि निर्माणस्थल फर्किएसँगै निर्माणाधीन अस्पताल भवनको प्लाष्टर लगायतका भित्री काम सुरु भएको अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए । ‘ठेकेदारले पर्खाल, गेटसम्मको सडकलगायतका काम केही दिनभित्र थाल्ने बताएका छन् । रोकिएको काम पुनः सुरु गरेकाले केही आशा पलाएको छ’ , उनले भने, ‘सम्झौताअनुसार गत पुस–२४ गते नै भवन निर्माण सम्पन्न हुनुपर्थ्यो । तोकिएको समयमा सम्पन्न नभएपछि थप १५ महिना म्याद थप भएको छ । बाँकी समयमा सम्पन्न हुनेछ ।’

लामो समयसम्म १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार भवन निर्माण सुरु गरिएको हो । निर्माणको काममा ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रवाह प्रभावित भइरहेको छ । ठेकेदार कम्पनीले ३० महिनामा सक्नेगरी २०७८ असार–२४ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । नेपाल सरकार, सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगामार्फत् भ्याटसहित २२ करोड ९० लाख ४७ हजार ९२ रूपैयाँमा अस्पताल भवनको ठेक्का उक्त कम्पनीले हो ।

२०४९ साल वैशाख १ गते स्थापना भएको अस्पताल अहिले ट्रस बनाएर सञ्चालन भएको छ । अस्पतालको पुरानो भवन भत्काएर ट्रस्टबाट स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । बिरामीको चाप बढेको समयमा भुइँमा राखेर उपचार गर्नुपर्ने वाध्यता रहेको अस्पतालका प्रमुख डा. रुपेश संग्रौलाले बताए। अस्पतालमा पर्याप्त उपकरण नहुँदा गम्भीर बिरामीलाई अन्यत्र सिफारिस गर्नुपर्ने बाध्यता रहेको उनले बताए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.