बढ्यो डेंगी संक्रमण, के छ सरकारको तयारी ?

३ महिनामा ३८ जनामा डेंगी संक्रमण
फाल्गुन २७, २०८० |कृपाल गौतम
बढ्यो डेंगी संक्रमण, के छ सरकारको तयारी ?

काठमाडौं । गत वर्ष नेपालमा ५१ हजारभन्दा बढीमा डेंगी संक्रमण देखिएको थियो । त्यसमा पनि २० जनाको मृत्यु नै भएको थियो । यो वर्ष मात्र हेर्ने हो भने तीन महिनामा ३८ जनामा संक्रमण देखिइसकेको छ । चिकित्सकहरुले गर्मी सुरु भएसँगै डेंगीको जोखिम बढ्ने बताइरहँदा सरकारले अघिल्ला वर्षजस्तै तयारी अवस्थामा रहेको दाबी गरेको छ ।

विगतमा फाट्टफुट्ट मात्र देखिने डेंगी संक्रमण पाँच वर्षयता ठूलो संख्यामा देखिन थालेको छ । २०१९ मा करिब १८ हजारमा संक्रमण देखिएको थियो । २०२० र २०२१ मा साढे पाँच सयको हाराहारीमा मात्र डेंगी देखिएको सरकारी तथ्यांक छ । तर २०२२ मा साढे ५४ हजारभन्दा बढी र २०२३ मा ५१ हजार जनामा संक्रमण देखियो । २०२४ को तीन महिनामा ३८ जनामा संक्रमण देखिइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तापक्रम बढ्दै गएको र केही दिन अघि भएको वर्षाका कारण पनि जोखिम बढेको चिकित्सकको भनाइ छ । समयमै सतर्कता नअपनाए संक्रमणको जोखिम बढ्ने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । ‘यदि कसैलाई ज्वरो आएको छ, टाउको दुखेको छ, शरीरमा फोकाहरु आएको छ भने डेंगी पनि हुन सक्छ भनेर टेस्टिङ गर्नतिर लाग्नुपर्‍यो र त्यहीअनुसार उपचारतिर पनि लाग्नुपर्छ,’ उनले भने ।

विगतका वर्षमा सरकारले डेंगी जोखिम कम गर्न तयारी अवस्थामा रहेको बताए पनि संक्रमण उच्च हुने गरेको थियो भने संक्रमण नियन्त्रण बाहिर गइसकेपछि मात्र सक्रियता बढाउने गरेको थियो । अहिले पनि आफूहरु तयारी अवस्थामै रहेको स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक समीरकुमार अधिकारीको दाबी छ । ‘अहिले सरकारले नियमित रुपमा निगरानी र नियन्त्रणका लागि चाहिने कुराहरु सरकारले व्यवस्थापन गर्नेमा ध्यान दिइरहेको छ,’ अधिकारीले भने ।

गत वर्ष डेंगी संक्रमणले २० जनाको ज्यान लिएको थियो । अघिल्ला वर्षजस्तो तयारी गरेको बताउने तर, कार्यान्वयनमा उदासीन हुने सरकारी प्रवृत्ति यस वर्ष पनि दोहोरिने हो भने अझै धेरै मानिसले अनाहकमा ज्यान गुमाउनुपर्ने हुन्छ । यसो हुन नदिन बेलैमा सावधानी अपनाउनु जरुरी छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।