गर्मीसँगै डेंगी संक्रमण बढ्दो, सरकारको तयारी सुस्त

फाल्गुन २६, २०८० |कृपाल गौतम
गर्मीसँगै डेंगी संक्रमण बढ्दो, सरकारको तयारी सुस्त

काठमाडौं । गत वर्ष नेपालमा ५१ हजारभन्दा बढीमा डेंगी संक्रमण देखिएको थियो । त्यसमा पनि २० जनाको मृत्यु नै भएको थियो । यो वर्ष पनि ३ महिनामा ३८ जनामा संक्रमण देखिइसकेको छ । चिकित्सकहरुले गर्मी सुरु भएसँगै डेंगीको जोखिम बढ्ने बताइरहँदा सरकारले अघिल्ला वर्षजस्तै तयारी अवस्थामा रहेको दाबी गरेको छ ।

विगतमा फाट्टफुट्टमात्र देखिने डेंगी संक्रमण ५ वर्षयता ठूलो संख्यामा देखिन थालेको छ ।

२०१९ मा करिब १८ हजारमा डेंगी संक्रमण देखिएको थियो । २०२० र २०२१ मा साढे ५ सयको हाराहारीमा मात्र डेंगी देखिएको सरकारी तथ्यांक छ । तर, २०२२ मा साढे ५४ हजारभन्दा बढी र २०२३ मा ५१ हजार जनामा संक्रमण देखियो । २०२४ को ३ महिनामा ३८ जनामा संक्रमण देखिइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 तापक्रम बढ्दै गएको र केही दिनअघि भएको वर्षाका कारण पनि जोखिम बढेको चिकित्सकको भनाइ छ । समयमै सतर्कता नअपनाए संक्रमणको जोखिम बढ्ने उनीहरु बताउँछन् ।

विगतका वर्षमा सरकारले डेंगी जोखिम कम गर्न तयारी अवस्थामा रहेको बताए पनि संक्रमण उच्च हुने गरेको थियो भने संक्रमण नियन्त्रण बाहिर गइसकेपछि मात्र सक्रियता बढाउने गरेको थियो । अहिले पनि सरकारले तयारी अवस्थामा नै रहेको दाबी गरेको छ ।

गत वर्ष डेंगी संक्रमणले २० जनाको ज्यान लिएको थियो । अघिल्ला वर्षजस्तो तयारी गरेको बताउने तर, कार्यान्वयनमा उदासीन हुने सरकारी प्रवृत्ति दोहोरिने हो भने अझै धेरै मानिसले अनाहकमा ज्यान गुमाउनुपर्ने हुन्छ । यसो हुन नदिन बेलैमा सावधानी अपनाउनु जरुरी छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।