म्याद गुज्रिएका औषधि बेच्ने व्यवसायीलाई कारबाही हुन्छ : उपमेयर डंगोल

फाल्गुन २६, २०८० |कान्तिपुर टीभी संवाददाता
म्याद गुज्रिएका औषधि बेच्ने व्यवसायीलाई कारबाही हुन्छ : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले म्याद गुज्रिएका औषधि र भ्याक्सिनहरु बिक्री गर्ने औषधि व्यवसायीहरुलाई कडा कारबाही गरिने बताएकी छिन् । नेपाल औषधी व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै डंगोलले उपभोक्ताको सुरक्षामा ध्यान नदिई म्याद गुज्रिएका औषधि बिक्री-वितरण नगर्न सचेत गराइन् ।

काठमाडौंको धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकहरूमा म्याद गुज्रिएका औषधी र भ्याक्सिनहरू बिक्री गरेको पाइएको बताउँदै उपभोक्ताको स्वास्थ्यमा खेलबाड नगर्न उनले चेतावनी दिइन् ।

विक्रेताहरुले आम उपभोक्ताको विश्वास जित्ने गरी औषधी बिक्री गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले अस्पतालको साथसाथै औषधी र फार्मेसीहरूको पनि अनुगमन गरिरहेका छौं,’ उनले भनिन्, ‘अनुगमनमा डरलाग्दो अवस्था देखिएको छ । फार्मेसीहरूमा डेट एक्पाएर औषधी बेचिराख्नु भएको छ । धेरै फार्मेसीमा लाइसेन्स लिने व्यक्ति एक जना र औषधी बेच्ने मान्छे अर्को भेटिएको छ ।’

काठमाडौं महानगरपालिकाकाले यस्ता डेट एक्सपायर औषधी बेच्ने थुप्रै फार्मेसीहरू बन्द गरेकोसमेत डंगोलले जानकारी दिइन् । उपभोक्तालाई विश्वासको वातावरण बनाउने काम औषधी व्यवसायी संघको पनि भएको उनको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.