ज्यान जोगाउन खाएको एन्टिबायोटिक ज्यानकै लागि खतरा त होइन ?

एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
नियमनमा औषधि व्यवस्था विभागको उदासीन
सिफारिसबिना खुलेआम किनबेच
फाल्गुन ७, २०८० |कृपाल गौतम
ज्यान जोगाउन खाएको एन्टिबायोटिक ज्यानकै लागि खतरा त होइन ?

काठमाडौं । के तपाईंले चिकित्सकको परामर्शबिना एन्टिबायोटिक औषधिको प्रयोग गर्ने गर्नुभएको छ ? वा कुनै एन्टिबायोटिकले आफ्नो रोग निको भयो भनेर कसैले दिएको सल्लाहमा त प्रयोग गर्नुभएको छैन नि । यदि छ भने आजै बन्द गर्नुस् । चिकित्सकको परामर्शबिनै एन्टिबायोटिक औषधि प्रयोग गरिरहे कुनै दिन रोग लाग्दा औषधिले कामै नगरी ज्यान जाने अवस्था पनि आउन सक्छ ।

एन्टिबायोटिक औषधि कुनै रोग पहिचान भएपछि चिकित्सकको परामर्शमा मात्रै प्रयोग गर्नुपर्छ । तर पछिल्ला दिनहरुमा चिकित्सकबाहेक अरु कसैले वा औषधि विक्रेताले दिएको सुझावकै आधारमा पनि एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति बढेको छ । जुन घातक हो ।

एन्टिबायोटिकको जथाभावी प्रयोगले शरीरमा प्रवेश गरेका ब्याक्टेरियाले प्रतिरोधात्मक क्षमता अर्थात् एन्टिबायोटिक रेसिस्टेन्स विकास गर्न थाल्छन् र रोग लागेका बेला काम गर्दैनन् । अनुचित प्रयोग बढेपछि विगतमा संक्रमण हुँदा एन्टिबायोटिकले जुन रोग निको पार्थ्यो त्यो त्यही एन्टिबायोटिकले नहुने अवस्था सिर्जना भइसकेको डा. सतिश देव बताउँछन् ।

औषधि ऐन २०३५ अनुसार एन्टिबायोटिक औषधि चिकित्सकको सिफारिसबिना बिक्री-वितरण गर्न पाइँदैन । तर अहिले खुलेआम बिक्रीवितरण हुने गरेको औषधि व्यवसायी माधवप्रसाद घिमिरेको भनाइ छ ।

अझ कतिपय चिकित्सकले त अनुचित रुपमै एन्टिबायोटिकको सिफारिस गर्छन् । त्यसमाथि बिरामीले पूरा डोज नखाने र बीचमै औषधि छाडिदिने प्रवृत्ति छ । तर नियामक निकाय औषधि व्यवस्था विभागसँग योबाहेक अरु पनि धेरै काम भएको भन्ने ओठे जवाफ छ ।

विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक प्रतिरोध समस्या समाधान गर्न नसकिए सन् २०५० सम्म एन्टिबायोटिकले काम नगरेकै कारण प्रतिवर्ष एक करोड मानिसको मृत्यु हुने अनुमान गरेको छ ।

एन्टिबायोटिक ‌औषधि हो । ठीक तरिकाले प्रयोग गरे ज्यान बचाउँछ । तर हामीले जथाभावी प्रयोग गर्ने एन्टिबायोटिक‍ औषधि मात्र होइन मासु तथा फलफूल तरकारीको माध्यमबाट सेवन गरिरहेको एन्टिबायोटिकले पनि जोखिम थपिरहेको छ ।

यसकारण एन्टिबायोटिकका सम्बन्धमा तपाईं हामी पनि सचेत नहुने र सरकारी अनुगमन पनि फितलो हुने हो भने भविश्यमा सानो संक्रमण हुँदा पनि एन्टिबायोटिकले काम नगरी ज्यानै जाने अवस्था आउन सक्छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।