वीर अस्पतालमा एक्सरे सेवा ठप्प

एमआरआई र सिटी स्क्यान सेवा पनि प्रभावित
ठेकेदारलाई दोष देखाएर जिम्मेवारीबाट पन्छिँदै नेतृत्व
मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
वीर अस्पतालमा एक्सरे सेवा ठप्प

काठमाडौं । देशकै सबैभन्दा पुरानो, ठूलो र सुविधा सम्पन्न मानिएको वीर अस्पतालमा पुगेपछि सबै किसिमका उपचार सेवा पाइन्छ भन्ने धेरैको बुझाइ छ । यो अस्पतालमा दैनिक दुई हजारसम्म बिरामी पुग्ने गरेका छन् । तर एक्स-रे गर्ने फिल्म नहुँदा सेवा नै बन्द भएको छ । एमआरआई तथा सिटी स्क्यानका लागि आवश्यक फिल्म पनि पर्याप्त छैन ।

वीर अस्पतालमा एक्स-रेका लागि आवश्यक फिल्म सकिएको एक साताभन्दा बढी भयो । सिटी स्क्यान तथा एमआरआईका लागि पनि अब दुई सयको हाराहारीमा मात्र फिल्म छ । अस्पतालका लागि अत्यावश्यक मानिएको फिल्म सकिँदा बिरामीले सास्ती बेहोर्नुपरेको उपचारका लागि बिरामी लिएर आएका सेवाग्राही भूपेन्द्र उपाध्याय बताउँछन् ।

अस्पतालले फिल्म सकिनुमा ठेकेदारमाथि दोषारोपण गरेको छ । गत असोज १५ गते अस्पतालले सिटी स्क्यान तथा एमआरआईका लागि चाहिने ५० हजार र एक्सरेका लागि ५० हजार फिल्म खरिद गर्न भाजुरत्न सप्लायर्सलाई जिम्मेवारी दिएको थियो । तर सप्लायर्सले अहिलेसम्म सिटी स्क्यान र एमआरआइका लागि १५ हजार तथा एक्सरेका लागि १५ हजार फिल्म मात्र दिएको अस्पतालका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरुले जानकारी दिए ।

वीर अस्पतालमा उपचार सामग्रीको अभाव हुँदा पनि स्वास्थ्य मन्त्रालय बेखबर जस्तै छ । वीर अस्पतालको समस्याबारे प्रारम्भिक जानकारी लिएको र सहजीकरणको प्रयास भइरहेको मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक समीरकुमार अधिकारीको भनाइ छ । तर अस्पताललाई तत्काल चाहिने आवश्यक सामग्री उपलब्ध गराउन भने मन्त्रालयले कुनै प्रयास गरेको छैन ।

वीर अस्पतालमा सिटी स्क्यान र तथा एमआरआईका लागि मासिक १० हजार र एक्स-रेका लागि मासिक सात हजार वटा फिल्म चाहिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.