ऐन मिचेर अनुमति दिन दबाब दिइएको भन्दै डा. केसीको आपत्ति

मंसिर ३, २०८० |कान्तिपुर टीभी संवाददाता
ऐन मिचेर अनुमति दिन दबाब दिइएको भन्दै डा. केसीको आपत्ति

काठमाढौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा ऐन विपरीत मापदण्ड नपुगेका संस्थालाई सञ्चालन अनुमतिका लागि दबाब दिने काम भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

डाक्टर केसीले आज विज्ञप्ति जारी गर्दै गैरकानुनी ढंगले खोलिएका संस्थालाई ऐन मिचेर अनुमतिका लागि संसद्को शिक्षा तथा स्वास्थ्य समितिमार्फत चिकित्सा शिक्षा आयोगलाई दबाब दिइएको भन्दै आपत्ति जनाएका हुन् । 

उनले स्वास्थ्य विषयका शिक्षालयहरू सीटीईभीटीअन्तर्गत नभइ स्वास्थ्य शिक्षासम्बन्धी नियमनकारी निकाय मातहत सञ्चालन हुनुपर्ने र  पूर्वाधार र मापदण्ड पुगेका प्रादेशिक अस्पतालमा नर्सिङलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्नसमेत माग गरेका छन् । 

जाजरकोटका भूकम्पपीडितहरू अहिले पनि राहत सामग्री नपाएर भोकै बस्न बाध्य भएको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रमा  झाडापखाला र श्वासप्रश्वासजन्य रोगको महामारी फैलनबाट रोकथामका लागि ठोस कदम चाल्नसमेत सरकारसँग माग गरेका छन् । 

डाक्टर केसीले विगतमा भएका सम्झौताअनुसार गेटा मेडिकल कलेजलाई तुरुन्त सञ्चालनमा ल्याउन, डडेलधुरा, उदयपुर, इलामलगायत हरेक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान खोल्न आग्रह गरेका छन् ।

विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी चयनसम्बन्धी  मापदण्ड बनाउन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन ल्याउन माग गर्दै केसीले मङ्सिर २८ गतेसम्मको अल्टिमेटम दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.