सुनसरी । वृत्तिविकासको माग गर्दै आन्दोलनरत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १४० चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
सात वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरूले आज (बुधबार) दिउँसो स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका हुन् । चिकित्सकहरूले स्वास्थ्यमन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासोसहित मंगलबार ज्ञापनपत्र बुझाएका थिए । तर आफूहरूको मागप्रति मन्त्री बस्नेत गैरजिम्मेवार बनेपछि राजीनामा दिनुपरेको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए ।
प्रतिष्ठानका पदाधिकारीबाट माग सुनवाइ हुन नसकेपछि सामूहिक बिदा लिएर मन्त्रीलाई ध्यानाकर्षण गराउन काठमाडौं पुगेका १७७ चिकित्सकमध्ये १४० जनाले राजीनामा दिएको सह-प्राध्यापक रिमालले जनाए । उनीहरूले प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयता मात्र ५० भन्दा बढी दक्ष चिकित्सकले प्रतिष्ठान छाडेको, विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सक अभाव भएर प्रतिष्ठानको पठनपाठनमा असर परेको बारेमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । तर मन्त्री बस्नेत जिम्मेवार भएर प्रस्तुत नभएको डा. रिमालको आरोप छ ।