चिकित्सक भन्छन्- निपा भाइरसको जोखिममा नेपाल

आश्विन ११, २०८० |कृपाल गौतम
चिकित्सक भन्छन्- निपा भाइरसको जोखिममा नेपाल

काठमाडौं । छिमेकी भारतमा संक्रामक रोग देखिना साथ नेपाल पनि जोखिममा परेको मानिन्छ । पछिल्लो समय भारतको केरेलामा निपा भाइरसको महामारी फैलिएको छ ।

सन् १९९८ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको यो भाइरसबाट अहिलेसम्म ६ सयभन्दा बढीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिले भारतको केरलामा २ जनाको मृत्यु भइसकेको छ ।

निपा भाइरस चमेराको सम्पर्कबाट पशु तथा पशुबाट मानिसमा सर्ने संक्रमण हो । यो मानिसबाट मानिसमा पनि सर्छ । अहिलेसम्म यो भाइरसविरुद्धको खोप विकसित भएको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार यसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म छ । भारतमा सन् २०१८ यता चौथो पटक यसको संक्रमण देखिइसकेको छ ।

निपा संक्रमण देखिएमा ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासको समस्या, कमजोरी, होस हराउँदै जाने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन् ।

संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला निपाबारे भन्छन्, ‘यो चमेरा कि सुँगुर-बँगुर जातिबाट सर्छ । यिनीहरुको मासु राम्रोसँग पकाएन र काँचो मासु छुएर नाक-मुखमा हात लगायो भने पनि सर्न सक्छ । संक्रमितको खोकी र र्‍यालले पनि सर्न सक्छ ।’

जोखिममा नेपाल

नेपालमा अहिलेसम्म यो भाइरसको संक्रमण पुष्टि भएको छैन । भारतमा कुनै पनि रोगको संक्रमण देखिएमा त्यसको जोखिम नेपालमा पनि पर्ने चिकित्सक बताउँछन् ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘भारतमा र बंगालदेशमा यसको भाइरस फैलिसकेको छ । खुला सीमाका कारण यो कुनै बेला पनि नेपालमा फैलन सक्छ ।’

यस भाइरसबाट बच्न सीमा स्वास्थ्य जाँच र कृषकहरुलाई समेत सचेत गर्नुपर्ने डा. अधिकारीको सुझाव छ । उनी भन्छन्, ‘सीमामा क्वारेन्टिनको स्थापना गर्नुपर्छ । केस भेटिए आइसोलेसनमा राख्नुपर्छ ।’

के छ नेपालको अवस्था ?

निपा भाइसरको परीक्षण नेपालमै गर्न सकिन्छ । तर अहिलेसम्म कसैको पनि नमूना परीक्षण भएको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमणको शंका लागेमा नमूना पठाउन चिकित्सकहरुलाई निर्देशन दिइसकेको जनाएको छ ।

यसबारेमा हुन सक्ने सम्भावित घटनाका लागि तयारी अवस्थामा रहेको महाशाखाको भनाइ छ । महाशाखाका निर्देशक डा. रुद्र मरासीनी भन्छन्, ‘ल्याबलाई तयारी अवस्थामा राखिएको छ । चिकित्सकहरुलाई यसबारेमा सर्कुलर जारी गरिएको छ । विमानस्थल र नाकामा शंकास्पदलाई जाँच गर्छौं ।’ 

निपा भाइरसको संक्रमण कोभिड जस्तो तीव्र भने नहुने चिकित्सकहरुको भनाइ छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।