सरकारी टोली र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

भाद्र ३१, २०८० |कान्तिपुर टीभी संवाददाता
सरकारी टोली र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता समिति र आन्दोलनरत चिकित्सक संघबीचको वार्तामा सहमति जुटेको छ । दुईपक्षीय वार्तामा सहमति जुटेसँगै चिकित्सकहरुले थालेको आन्दोलन पनि रोकिएको छ ।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिव डा. विकास देवकोटा नेतृत्वको समिति र नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्की नेतृत्वको टोलीबीच भएको वार्तामा ६ बुँदे सहमति जुटेपछि आन्दोलनका कार्यक्रम स्थगित भएका हुन् ।

हेटौंडास्थित सन्चो अस्पतालमा दुई डाक्टर कुटिएको विषयमा प्रशासनले देखाएको रवैयाको विरोध गर्दै संघले आन्दोलनका कार्यक्रम अगाडि सारेको थियो । गत बुधबार सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीका आफन्तले कुटपिट गरेका थिए ।

उक्त घटनाको विरोध र सुरक्षा प्रत्याभूतिको माग गर्दै आइतबार देशभरका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प पारिएका थिए ।

यी हुन् दुई पक्षबीच भएका ६ बुँदे सम्झौता :

१. २०८०/०५/२७ गतेका दिन सन्चो अस्पताल, हेटौंडामा ड्युउटीमा रहेका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएका दोषीहरुलाई गृह मन्त्रालयमार्फत सम्बन्धित निकायले तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) बमोजिम कारबाही गर्ने साथै पक्राउ परेका ४ जना पक्राउ पुर्जी जारी भएका पाँच जनासहित अन्य दोषीलाई सोही ऐनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने ।

२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारका सरोकारवाला निकायहरु प्रतिबद्ध रहने ।

३. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को दफा ५ बमोजिमको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति’ लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय बनाउन मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने ।

४. ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)’ कार्यान्वयनका लागि सरोकारवालाहरुलाई स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मनन गरी सोहीअनुरुप सचेतनामूलक कार्यक्रमहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघसँगको सहकार्यमा यसै आर्थिक वर्षदेखि सञ्चालन गर्ने ।

५. चिकित्सकहरुको सेवा-सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृत्ति कम गर्नेलगायत समस्या समाधान गर्ने गरी तीन महिनाभित्र चिकित्सक सेवासम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने ।

६. स्वास्थ्यजस्तो अत्यावश्यक सेवालाई मर्यादित संवेदनशील बनाई सेवाप्रति प्रतिबद्ध रहँदै २०८० भाद्र ३१ गते आइतबार नेपाल चिकित्सक संघको अगुवाइमा भएको देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरु बन्दलगायत घोषित सम्पूर्ण कार्यक्रम स्थगित गर्ने ।

यो पनि...

चिकित्सक कुट्नेमाथि कारबाहीको माग गर्दै ७८ जना स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

Enter Kantipur TV HD
Advertisement