ज्येष्ठ नागरिक र अपांगता भएकालाई घरमै उपचार

असार २१, २०८० |अस्मिता पराजुली
ज्येष्ठ नागरिक र अपांगता भएकालाई घरमै उपचार

काठमाडौं । ललितपुर महानगरपालिकाले ७० वर्षमाथिका (ज्येष्ठ नागरिक) र अपांगता भएका सर्वसाधारणलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ । अभियान पहिलो चरणमा सरकारी स्वास्थ्य संस्था नभएका ९ वटा वडामा लक्षित गरिएको हो ।

ललितपुर कुमारीपाटीकी ९२ वर्षीया न्हुच्छेमाया शाक्य सुगर, उच्च रक्तचाप, कोलेस्टेरोललगायत समस्याबाट पीडित छन् । अधिकांश कुरा बिर्सन्छिन् उनी । छोरीको रेखदेखमा रहँदै आएकी उनलाई बारम्बार अस्पताल लैजानुपर्थ्यो । तर, महानगरको यो अभियानले खर्च र सास्ती दुवै कम भएको छोरी मञ्जु शाक्य बताउँछिन् ।

‘आजभोलि सबै आफ्नो-आफ्नो काममा व्यस्त हुन्छ । यति सर्भिस दिनु भनेको धेरै ठूलो हो,’ कान्तिपुर टेलिभिजनसँग उनले भनिन् ।

रामेछाप स्थायी घर भई थसीखेल कैलाशबस्ती बस्दै आएका मिनुर तामाङ पनि नसाको समस्याले अशक्त छन् । एकातिर खुट्टाको समस्या, अर्कोतिर ढाडको र उच्च रक्तचापका बिरामी, प्रत्येक महिना ४ पटक अस्पताल जानुपर्ने दैनिक थियो ।

‘ढाडको नसाको समस्याका कारण पिसाबको समस्या थियो । घरमै डाक्टरसाबहरु आउनुभयो जाँच्नका लागि । धेरै खुसी लागेको छ,’ तामाङले सुनाए ।

महानगरपालिकाबाट खटिएको टोलीले रक्तचाप, मधुमेह, पिसाब जाँचसँगै स्वास्थ्य समस्याका बारेमा पनि परामर्श दिने गर्छ । टोलीले १० दिनदेखि दैनिक करिब ३० बिरामीको परीक्षण गर्ने गरेको छ । साधारण जाँच नि:शुल्क गरिए पनि जटिल समस्या देखिएका बिरामीलाई न्यूनतम रकममा उपचार हुने व्यवस्था गरेको छ ।

यसका लागि महानगरपालिकाले हृदयरोग प्रतिष्ठान, नेपाल नेत्रज्योति संघ कीर्तिपुर, मेडिसिटी अस्पताल र मिर्गौला बचाउ अभियानसँग सम्झौता गरेको छ । यो सेवालाई प्रभावकारी बनाउन महानगरले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले सामान्य बिरामीलाई घरमै उपचार गर्ने र जटिल रोग लागेका बिरामी भए अस्पताल लैजाने र त्यहाँ पनि सहुलियत रुपमा उपचार गरिने जानकारी दिए । उनले ११३१ मा फोन गरेर स्वास्थ्य सेवा लिन सकिने पनि जनाए ।

ललितपुर महानगरपालिकाका २९ वटा वडामध्ये २० वटामा सरकारबाट सञ्चालित स्वास्थ्य संस्था छन् । महानगरले पहिलो चरणमा सरकारी स्वास्थ्य संस्था नभएका ९ वटा वडालाई लक्षित गर्दै घर-घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो । 


Image

अस्मिता पराजुली

पराजुली कान्तिपुर टीभीका संवाददाता हुन् ।