सरकारी अस्पतालमा डायलिसिसका उपकरण प्रयोगविहीन

जेष्ठ १९, २०८० |केदार शिवाकोटी|राजकुमार कार्की|राजकृष्ण श्रेष्ठ|कमला पाख्रिन
सरकारी अस्पतालमा डायलिसिसका उपकरण प्रयोगविहीन

दोलखा । बागमती प्रदेशका अस्पतालहरूमा जनशक्ति र पूर्वाधार व्यवस्थापन बिनै मिर्गौलाका बिरामीको डायलिसिसका लागि उपकरण खरिद गरिएको छ । तर, जनशक्ति व्यवस्थापन नहुँदा खरिद गरिएका उपकरण सञ्चालनमा आएको छैन । कतिपय  अस्पतालमा डायलिसिस मेसिन त्यसै थन्किएका छन् भने कतिपयमा उपकरण नै छैन । 

दोलखाको पशुपति चौलागाई स्मृति अस्पतालमा डायलिसिसका २ वटा उपकरण अलपत्र हुँदा बिरामी भने महँगो खर्चमा निजी अस्पतालमा उपचार गर्न बाध्य छन् । दुई वर्षदेखि बागमती प्रदेश सरकारले खरिद गरेर दिएका उपकरण सञ्चालनमा आउन सकेको छैन । 

यस्तै सिन्धुपाल्चोकको चौतारा अस्पतालमा भने प्रदेश सरकारले डायलिसिस सेवाका लागि उपकरण उपलब्ध नगराउँदा बिरामी उपचारको लागि घर खेत छोडेर राजधानीका अस्पताल आसपासका उपचारका लागि डेरामा बस्नु परेको छ । डायलिसिस गराउन एक पटकको ५ हजार लाग्छ ।

‘धेरै मिर्गौला रोगीहरू त आफ्नो घर खेत बेचेर, काठमाडौंमा डेरा गरेर डायलिसिस गरिराखेका पनि भेटिन्छन्’, दोलखाका स्थानीय युवराज पुरीले भने ।

दोलखाको पशुपति चौलागाईं स्मृति अस्पतालका अध्यक्ष भरत प्रधानले प्रदेश सरकारले जनशक्ति भए उपकरण नदिने, उपकरण भए जनशक्ति नदिने गरेको बताए ।

सिन्धुली अस्पतालमा निःशुल्क डायलिसिस सेवा उपलब्ध हुँदासमेत सेवाग्राही सेवा लिन जाँदैनन् भने नुवाकोट त्रिशूली अस्पतालमा मासिक पाँच जना बिरामीले डायलिसिस सेवा लिइरहेका छन् ।

अस्पतालका उपकरण कतै अनुमति नपाएर त कतै जनशक्ति र पूर्वाधार विनै खरिद गरिएर थन्किएका छन् । सेवा विस्तार भएका अस्पतालमा पनि सेवाग्राही पुग्न सकेका छैनन् ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।

Image

राजकुमार कार्की

कार्की कान्तिपुर टेलिभिजनका सिन्धुली संवाददाता हुन् ।

Image

राजकृष्ण श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नुवाकोट संवाददाता हुन् ।

Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement