स्वास्थ्य अनुसन्धान परिषद्ले पर्याप्त काम गर्न नसक्दा विदेशी स्वास्थ्य संस्थाको भरमा सरकार

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य अनुसन्धान परिषद्ले पर्याप्त काम गर्न नसक्दा विदेशी स्वास्थ्य संस्थाको भरमा सरकार

काठमाडौं । स्वास्थ्यसम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न-गराउन स्थापना गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पर्याप्त काम गर्न सकेको छैन ।

परिषदले पछिल्लो ५ वर्षमा ५२ वटा क्लिनिकल ट्रायल अर्थात् मानिसको प्रत्यक्ष संलग्नतामा खोप वा औषधिको परीक्षण गर्न विदेशी संस्थालाई अनुमति दिएको थियो । यीमध्ये १३ वटा अहिले पनि सञ्चालनमा छन् । सञ्चालनमा रहेका परीक्षण मध्ये परिषद्ले ४ वटा अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणको नेतृत्व आफैंले गरेको छ ।

त्यसैगरी २ वटा औषधिको क्लिनिकल परीक्षणको सुरुवात परिषद्ले गरेको छ। अहिले नेपालमा कोभिडको खोप, औषधि तथा उपचार पद्धतिका बारेमा परीक्षण चलिरहेको छ । जनशक्ति, आर्थिक तथा पूर्वाधार अभावमा पर्याप्त परीक्षण गर्न नसकेको परिषद्ले जनाएको छ ।

नेपालमा कुनै पनि औषधि तथा खोपको क्लिनिकल परीक्षण गर्न स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिता समीक्षा बोर्डले सिफारिस गरेर मन्त्रिपरिषदबाट अनुमति लिनुपर्छ । नेपालमा तेस्रो वा सोभन्दा माथिल्लो चरणको परीक्षणलाई मात्र अनुमति दिइएको छ । तर पर्याप्त निगरानी हुन नसक्दा परीक्षणमा बेला बेला समस्या देखिने गरेको छ ।

नेपालमा स्वास्थ्यसम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धानको पर्याप्त सम्भावना छ । तर, सरकारलाई नीति बनाउनसमेत विदेशी संघसंस्थाले गरेको अध्ययनमा भर पर्नुपर्ने अवस्था छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.