के नेपालमा छातीको सङ्क्रमणको उपचार छैन ?

वैशाख ७, २०८० |कान्तिपुर टीभी संवाददाता
के नेपालमा छातीको सङ्क्रमणको उपचार छैन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स अस्पताल) मा उपचाररत छन् । उनलाई उपचारका लागि भारत मै लैजानुपर्ने कारण भने शिक्षण अस्पतालले स्पष्ट पारेको छैन ।

छातीमा सङ्क्रमण भएमा त्यसको उपचार नेपालमा सम्भव छ या छैन र कुन अवस्थामा विदेश लैजानुपर्ने हुन्छ भन्नेबारे वरिष्ठ फोक्सो रोग विशेषज्ञ डाक्टर अर्जुन कार्कीसँग कृपाल गौतमले गरेको कुराकानी :

छातीको सङ्क्रमण हुनु भनेको कस्तो समस्या हो ?

छाती भनेको त ठूलै कुरा भयो । छाला, करङदेखि तल्लो तहसम्म । मूलतः छातीको सङ्क्रमण भन्दा हामीले बुझ्ने भनेको फोक्सो सङ्क्रमण नै भन्ने हो । सामान्यतया फोक्सो कीटाणुरहित अङ्ग हो त्यो, स्वस्थ अवस्थामा । रोग लगाउने कीटाणुले फोक्सोमा बसेर त्यहाँ भद्रगोल गर्न थाल्यो, त्यसले नोक्सान पुर्‍याउन थाल्यो भने त्यस्तो अवस्थामा हामी फोक्सोको सङ्क्रमण भयो भन्छौँ । 

फोक्सोमा पानी जम्यो, निमोनिया भयो भने त्यसको उपचार नेपालमै सम्भव छ कि छैन ?

यो फोक्सोको सङ्क्रमण अथवा छातीको भित्र र फोक्सोको बाहिर पानी जम्नुलाई हामी ‘प्लियुरल इफ्युजन’ भन्छौँ । यो कहिलेकाहीँ निमोनियाका कारणले हुन्छ । कहिले टीबीका कारणले हुन्छ । कहिलेकाहीँ फोक्सोमा रगत लिएर जाने नलीहरूमा रगत जमेर बाटो छेकेपछि अथवा फोक्सोको कुनै भागमा नोक्सान पुग्यो भने पानी जम्न सक्छ ।

यस्ता समस्या तह हामीले दैनिक उपचार गरिरहेकै हो । त्यो त्यति धेरै गम्भीर खालको, एकदमै उपल्लो तहमा विज्ञता चाहिने खालको समस्या होइन यो । 

कस्तो अवस्थामा नेपालमा उपचार हुँदैन ?

त्यस्तो खासै विशेष अवस्था हुने भन्ने पनि होइन । कसैको उमेर असाध्यै छिपिएको छ, ९५ वर्षको मान्छे छ, विभिन्न अङ्ग शिथिल छन्, एउटा अंगलाई चलाउँदा अर्को अङ्ग बिग्रन डर हुन्छ, अथवा बिरामी असाध्यै डराउँछ, नेपाली डाक्टरमाथि विश्वास नै छैन, यिनीहरूले जानेका छैनन्, यिनीहरूले सिद्ध्याइदिन सक्छन्, विश्वासको कमी छ भने मान्छे बाहिर जानेबारे सोच्न पनि सक्छ ।

सामान्यतया फोक्सोको सङ्क्रमण एकदमै जटिल खालको कीटाणुको सङ्क्रमणले भएको रहेछ । त्यो कीटाणुलाई उपचार गर्ने औषधि नेपालमा रहेनछ, त्यो कीटाणु कुन हो हामीले पहिचान पनि गर्न सकेनौँ भने बाहिर लैजानुपर्ने अवस्था पर्न सक्छ ।  

थप कुराकानी भिडिओमा हेर्नुहोस् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement