८० प्रतिशत महिलाका लागि महिनावारी असहज र पीडादायी (रिपोर्ट)

चैत्र २४, २०७९ |अस्मिता पराजुली
८० प्रतिशत महिलाका लागि महिनावारी असहज र पीडादायी (रिपोर्ट)

काठमाडौं । महिलामा महिनावारी हुनु प्राकृतिक नियम हो । तर यही नियमले महिनैपिच्छे महिलामा शारीरिक तथा मानसिक कष्ट निम्त्याउने गरेको छ । विभिन्न अध्ययनले ८० प्रतिशत महिलाले महिनावारीलाई पीडादायी र असहज रुपमा लिने गरेको देखाएको छ । महिनावारीका समयमा महिलालाई बिदा दिने नियम केही मुलुकमा भए पनि नेपालमा भने यसबारे बहससम्म सुरु भएको छैन ।

प्रजनन क्षमता भएका उमेरका महिलामा महिनावारीका बेला तल्लो पेट तथा ढाड दुख्ने आम समस्या हो । कसैकसैलाई झर्को लाग्ने, बान्ता हुने र चिडचिडापन हुने हुनसक्छ । अझ महिनावारी सुरु भएका किशोरी र सुक्ने चरणका महिलामा त झन् यो पीडा बढी हुने गर्दछ ।

महिनावारीमा दुखाइ धेरै भएमा दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ । तर, आफूखुसी सेवन गर्ने औषधिले अरु स्वास्थ्य समस्या निम्त्याउन सक्ने कुरामा भने सचेत रहनुपर्छ । यसबाहेक झोलिलो कुरा प्रशस्त खाने र आराम गनुपर्ने हुन्छ । तर कामकाजी महिलालाई भने पीडा सहेरै होस् वा औषधि खाएर, दैनिक काम गर्नुपर्ने बाध्यता छ । यसले कार्यशैली र पेसामा समेत प्रभाव पार्ने गर्दछ । अझ स्कुले किशोरीहरु पनि सफा पानी, सुरक्षित र लैंगिक रुपमा छुट्याइएका शौचालयको अभावका कारण महिनावारीको समयमा स्कुल छुटाउन बाध्य हुन्छन् ।

महिनावारीका समयमा आवश्यक पर्ने सेनेटरी प्याडलगायत सामग्री कार्यालयले उपलब्ध नगराउँदासमेत महिलाहरुले असहजता भोगिरहेका छन् ।

महिनावारीमा बिदाको बहस किन चल्दैन ? 

विश्वका केही मुलुकले महिनावारीको समयमा महिला कर्मचारीलाई बिदा नै दिने नीति अवलम्बन गरेका छन् । नेपालमा पनि महिनावारी बिदा कि कार्यस्थलमा सहजता भन्ने विषयमा बेलाबेलामा बहस हुने गर्छ । केही नगरपालिकाले आफू मातहतका कर्मचारीलाई बिदाको समेत व्यवस्था गरेका छन् । तर बिदाभन्दा पनि महिनावारीको समयमा सौहार्दपूर्ण वातावरण र पोषिलो खानेकुराजस्ता सुविधा उपलब्ध गराउनुपर्ने अधिकारकर्मीको भनाइ छ ।

प्रजजनसम्बन्धी सचेतना कम हुँदासमेत यस्ता समस्याको मानसिक प्रभाव बढी पर्ने गरेको छ । अझ अधिकांश किशोरीहरुलाई त पहिलोपटक महिनावारी हुँदा कस्ता समस्या निम्तन्छन् भन्नेबारे जानकारी नै हुँदैन । तीनै तहका सरकारले महिनावारी सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गर्नु जरुरी त छ नै, परिवार र समाजले पनि यसलाई सामान्य प्राकृतिक नियमका रुपमा लिनुपर्छ ।


Image

अस्मिता पराजुली

पराजुली कान्तिपुर टीभीका संवाददाता हुन् ।