कोभिड संक्रमण दैनिक बढ्दै, चौबीस घण्टामा थपिए ३४ संक्रमित

चैत्र १५, २०७९ |कान्तिपुर टीभी संवाददाता
कोभिड संक्रमण दैनिक बढ्दै, चौबीस घण्टामा थपिए ३४ संक्रमित

काठमाडौं । नेपालमा आज (बुधबार) थप ३४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिनयता कोभिड संक्रमण बढेको तथ्यांकले देखाएको छ ।

पछिल्ला चार दिनमा मात्र ८१ जना संक्रमित थपिएका छन् । अहिले देशैभर पीसीआर पोजेटिभ भएका सक्रिय संक्रमितको संख्या १०३ पुगेको छ ।

सरकारले संक्रमितको संख्या बढ्दै गएकाले नाकामा परीक्षण र निगरानी बढाएको दाबी गरेको छ । कैलालीको त्रिनगर, रुपन्देहीको बेलैया, कञ्चनपुरको गड्डाचौकीलगायत स्थानबाट भित्रनेमा संक्रमण बढी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । संक्रमितको नमुना परीक्षण गर्दा नयाँ भेरियन्ट देखिएको छैन ।

सरकारले यसअघि कोभिडविरुद्धको खोप नलगाएकाहरुलाई तत्काल लगाउन भनेको छ । पछिल्लो समय सरकारले बुस्टरका लागि प्रयोग हुने फाइजरको वाइभ्यालेन्ट खोप पनि दिँदै आएको छ । बुस्टर डोज नलगाएका, ५५ वर्षमाथिका र दीर्घरोग भएकालाई खोप लगाउन सरकारले आग्रह गरेको हो ।

नेपालमा हालसम्म जनसंख्याको ८२ दशमलव ९ प्रतिशतले खोपको एक मात्रा र ८२ दशमलव ७ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.