अमरगढी-१० यसरी भयो देशकै पहिलो पोषणमैत्री वडा (भिडियो रिपोर्ट)

चैत्र ४, २०७९ |वरुण पनेरू
अमरगढी-१० यसरी भयो देशकै पहिलो पोषणमैत्री वडा (भिडियो रिपोर्ट)

डडेलधुरा । डडेलधुराको अमरगढी नगरपालिकाको १० नम्बर वडा नेपालकै पहिलो पोषणमैत्री वडा घोषणा भएको छ । वडाबासीको पोषणस्तर सुधार गर्न त्यहाँका महिला स्वास्थ्य स्वयंसेविकाको योगदान ठूलो छ । आफ्नो काममार्फत उनीहरूले सरकारी स्वास्थ्य प्रणालीलाई समुदायसम्म जोड्ने काम गरिरहेका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका-१० की सुन्दरीदेवी भट्टले स्वयंसेविकाको काम गर्न थालेको १० वर्ष भयो । गाउँका महिला गर्भवती भएदेखि सुत्केरी नहुँदासम्म उनी गर्भको शिशु र गर्भवती आमाको स्वास्थ्यबारे हरदम सचेत बनाइरहेकी भेटिन्छिन् । सुत्केरी पछि मातृशिशु स्याहार बारेको ज्ञान फैलाउन पनि उनी खटिइरहेकी हुन्छिन् । भट्टजस्तै जुझारु ६ जना महिला स्वयंसेविकाको पहलमा अमरगढी नगरपालिकाको १० नम्बर वडा यही चैत्र ३ गते नेपालकै पहिलो पोषणमैत्री वडा घोषणा भएको छ ।

गर्भवती महिलाको घरघरै पुगेर लगत राख्ने, चारपटक गर्भ जाँच गराउन स्वास्थ्य संस्था पठाउने लगायतका काम पनि उनीहरूले गर्दै आएका छन् । ग्रामीण क्षेत्रमा दिइने हरेक खोपमा स्वयंसेविकाहरूको भूमिका ठूलो छ । बालबालिकलाई कुपोषणबाट जोगाउन पौष्टिक आहार खुवाउनेदेखि मातृशिशु स्याहारबारे जनचेतना जगाउने काम पनि उनीहरूले नै गर्दछन् । स्वयंसेविकाहरूको अभियानकै कारण गाउँमा झाडापखाला, दादुरा, कुपोषण निमोनियाबाट हुने पाँच वर्ष मुनिको मृत्युदर पछिल्लो ३ वर्षदेखि शून्यमा झरेको छ ।

नेपालकै पहिलो पोषणमैत्री वडा घोषणा गर्न पूरा हुनुपर्ने ७६ सूचकमध्ये महत्वपूर्ण २२ वटा सूचक महिला स्वयंसेविकाले पूरा गराउन ठूलो काम गरेका छन् । १०० प्रतिशत संस्थागत सुत्केरी हुनु पर्ने, ९० प्रतिशत भन्दाबढी बालबालिकाले खोप लगाएको हुनु पर्ने, गर्भवती महिलाको कम्तीमा ४ चेकजाँच ९० प्रतिशतले गराएको हुनु पर्ने र ६ महिनादेखि ५९ महिनाका बालबालिकाले भिटामिन-ए खाएको ९० प्रतिशत हुनु पर्ने जस्ता सूचकहरु राखिएको छ भने राज्यले स्वास्थ्य क्षेत्रमा अवलम्बन गर्ने हरेक नीति तथा कार्यक्रम गाउँस्तरमा कार्यान्वयन गर्न महिला स्वास्थ्य स्वयंसेविकाको योगदान ठूलो छ ।

त्यस बाहेक परिवार नियोजनका अस्थायी साधनबारे प्रचारप्रसार गरी प्रयोग बढाएर प्रजनन दर घटाउनमा पनि स्वयंसेविकाहरूले गरेको प्रयास सह्रानीय छ । सीमित सेवा-सुविधामा चित्त बुझाएर गाउँतहको स्वास्थ्य सुधारमा खटिएका महिला स्वयंसेविकाहरूको कामको उचित कदर हुन जरुरी छ ।