प्रभावकारी भएन सिकलसेल एनेमियाको उपचार

फाल्गुन २९, २०७९ |कमल पन्थी|टेकराज जोशी
प्रभावकारी भएन सिकलसेल एनेमियाको उपचार

धनगढी । पश्चिम तराइका थारु समुदायमा वंशाणुगत रूपमा फैलिँदै गरेको सिकलसेल एनेमियाको उपचार प्रभावकारी हुन सकेको छैन । सरकारले परीक्षण र उपचार निःशुल्क घोषणा गरे पनि जनचेतना अभाव, गरिबी, तथा स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा सिकलसेल एनेमिया रोगीको उपचार प्रभावकारी बन्न नसकेको हो ।

कैलाली श्रीपुरकी ३० वर्षीया शारदा चौधरी ४ वर्ष अघि शरीर दुखेर हिड्नै नसक्ने समस्याले ग्रस्त भइन । उपचारका लागि नेपाल र भारतका थुप्रै अस्पताल धाउँदा धाउँदै भएको जायजेथा सकियो । तर निको भएन । बरु दुई वर्षपछि   नेपालमै थप जाँच गराउँदा सिकलसेल एनेमिया देखियो ।

थारु समुदायका अधिकांश बस्तीमा यस्तै समस्या छ । कैलाली र कञ्चनपुरमा मात्रै हालसम्म करिब १२ सय जनामा सिकलसेल रोग देखिएको छ ।  बर्दियाका करिब २० हजार जनामा परीक्षण गर्दा २० प्रतिशतमा यो रोग देखिएको छ ।

सिकलसेल एनेमिया वंशाणुगत रोग हो । कपिलवस्तुदेखि कञ्चनपुरसम्म थारु समुदायका अधिकांशमा यो रोग देखा परेको छ । चिकित्सकका अनुसार सिकलसेल रोगले बिरामीको मस्तिष्कदेखि अरू अङ्गलाई प्रभावित गर्दछ । हातखुट्टा लगायत शरीरका हड्डी दुख्ने, रक्तअल्पता, जन्डिस लगायतका समस्या भोग्नुपर्ने बाध्यता भए पनि नेपालमा दीर्घकालीन उपचारको व्यवस्था हुन सकेको छैन ।

सिकलसेलका बिरामी बढ्दै गएपछि सरकारले निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । २०७१ सालदेखि पहिचान भएका बिरामीलाई एक लाख रुपैयाँ बराबरको उपचार खर्च दिन थालेको छ । प्रदेश सरकारले पनि थप आर्थिक सहयोग गर्ने निर्णय भएको छ । रोग नियन्त्रणको उपाय पत्ता नलाग्नु मुख्य समस्या हो । 

मलेरिया प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपाल, भारतसहित विश्वका अधिकांश देशका आदिवासी समुदायमा सिकलसेल एनेमिया रोग देखा परेको छ । तर बिरामी बढ्दै जाने र उपचार प्रभावकारी नहुँदा नेपालका थारु समुदायमा रोग र त्रास झन् बढेको छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।

Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।