
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार मन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर शाहले मन्त्रीहरूसँग सामूहिक र छुट्टाछुट्टै छलफल गर्नुभएको हो । सरकारले शनिबार १ सय बुँदे ‘शासकीय सुधार कार्यसूची’ सार्वजनिक गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको उक्त कार्यसूचीमा विभिन्न मन्त्रालय तथा विभागले गर्ने कामकारबाही समेटिएका छन् ।
यिनै विषय कार्यान्वयन गर्ने क्रममा हुनसक्ने जटिलता र समस्याबारे आजको छलफलमा प्रधानमन्त्रीले राय लिनुभएको बैठकमा सहभागी एक मन्त्रीले बताउनुभयो । सरकारले सुशासन, प्रशासनिक पुनर्संरचना र जनजीविकामा प्रत्यक्ष सुधार ल्याउने गरी महत्त्वाकांक्षी योजना अघि सारेकाले त्यसलाई कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको हो ।