वीर, कान्ति र प्रसूतिका चिकित्सकले अब अन्यत्र काम गर्न नपाउने

फाल्गुन २६, २०७९ |नारायण किलम्बू
वीर, कान्ति र प्रसूतिका चिकित्सकले अब अन्यत्र काम गर्न नपाउने

काठमाडौं । सरकारी अस्पतालको सेवा सुधारका लागि सरकारले तीन वटा केन्द्रीय अस्पतालमा 'एक चिकित्सक, एक अस्पताल' नीति लागू गर्ने भएको छ । यसअनुसार अब सरकारी चिकित्सकले आफू कार्यरतबाहेक अन्य स्वास्थ्य संस्थामा काम गर्न पाउने छैनन् । यो नीति कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएको छ ।

काठमाडौंका तीन वटा सरकारी अस्पताल वीर, कान्ति र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा देशभरका बिरामी आउँछन् । बिरामीको चाप हुने भएकाले यी अस्पतालमा स्वास्थ्य सेवा सहज छैन । परीक्षण र रोग पहिचानकै लागि लामो समय पर्खनुपर्ने बाध्यता छ । सरकारले यी अस्पतालमा एक चिकित्सक, एक अस्पताल लागू गरेपछि अब चिकित्सकले आफू कार्यरतबाहेक अन्य स्वास्थ्य संस्थामा काम गर्न पाउनेछैनन् । सरकारले निर्धारण गरेको साताको ४० घण्टाबाहेक अन्य समयमा पनि अस्पतालमा काम गर्नुपर्ने हुन्छ । सरकारी अस्पतालमा जुनसुकै बेला विशेषज्ञबाट बिरामीको सहज उपचार र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको लक्ष्य अनुसार यो अवधारणा अगाडि ल्याइएको हो ।

त्यसो त, सरकारले यो नीति ल्याएको लामो समय भयो । तर, नियमन अभावमा सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले अधिकांश समय निजी अस्पताल तथा आफ्नो क्लिनिकमै बिताउने गरेका छन् । यसबाट बिरामीले सहजै उपचार नपाउने गुनासा धेरै आउने गरेका छन् ।

चिकित्सक मात्र होइन अस्पतालका स्वास्थ्यकर्मी र प्राविधिकहरू पनि निजी स्वास्थ्य संस्थामा काम गर्ने गर्छन् । अन्यत्र काम गर्न नपाउने भएपछि सेवा सुविधामा पनि वृद्धि गरे मात्र सरकारी नीति कार्यान्वयन हुने चिकित्सकहरूको भनाइ छ ।

लामो समयदेखि दरबन्दी नथपिँदा यसै त सरकारी अस्पतालका सेवा प्रभावित भइरहेका छन्, झन् त्यसमाथि भएकै चिकित्सकसमेत अस्पतालमा पूरा समय नबस्दा सर्वसाधारण मर्कामा परिरहेका छन् । यस्तोमा, यो नीति कार्यान्वयन हुने हो भने सरकारी अस्पतालको सेवा सुधारमा समेत बल पुग्ने देखिन्छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।