पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको सुनसरीमा कसरी फैलियो दादुरा ? (भिडियो रिपोर्ट)

फाल्गुन २०, २०७९ |अर्जुन सुवेदी
पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको सुनसरीमा कसरी फैलियो दादुरा ? (भिडियो रिपोर्ट)

इनरुवा । सरकारले सन् २०२३ अर्थात् यसै वर्षभित्र नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ । देशका विभिन्न जिल्लामा दादुराको प्रकोप देखिएकाले यो लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ । पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका सुनसरी र मोरङमा पनि दादुराको प्रकोप देखिएको छ ।

गत असार ३० गते सुनसरीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरियो । इटहरीमा एक भव्य कार्यक्रमबीच कोसी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सुनसरीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरेका थिए । सबै मापदण्ड पूरा भएपछि पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको सुनसरीमा एकाएक दादुराको प्रकोप कसरी फैलियो यतिबेला चासोको विषय बनेको छ ।

यो वर्षमात्र बाँके तथा बाजुरामा देखिएको दादुराको प्रकोप अहिले सुनसरी र मोरङमा पनि देखिन थालेको छ । मोरङको रतुवामाई नगरपालिकामा केही बिरामी भेटिएका छन् भने सुनसरीको बर्जु गाउँपालिकामा प्रकोप तीव्ररुपमा फैलिएको छ । संक्रमित हुनेमा अधिकांश पाँचदेखि १० वर्ष उमेर समूहका बालबालिका छन् । तीमध्ये कतिपयले कुनै पनि खोप नलगाएको र धेरैले पूर्ण खोप नलगाएको पाइएको छ ।

दुई साता अवधिमा २९ जना दादुराका बिरामी भेटिएको बर्जु गाउँपालिकामा एकसाथ १० हजार बालबालिकालाई खोप लगाउन थालिएको छ । दादुरा संक्रमितले खोक्दा, खाने कुराहरु बाँडेर खाँदा, एउटै कपडा प्रयोग गर्दा अन्य व्यक्तिमा सर्छ । दादुरा संक्रमण भएका बालबालिकामा ज्वरो आउनु र शरीरमा राता बिबिरा देखापर्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने र पाक्नेजस्ता लक्षण देखिने चिकित्सक बताउँछन् ।

दादुरा निवारणका लागि सरकारी तथा विभिन्न गैरसरकारी निकायले काम गर्दै आएका छन् भने विभिन्न दातृ निकायले पनि सहयोग गर्दै आएका छन् । तरपनि बर्सेनि प्रकोप दोहोरिदा सरकारी प्रभावकारितामै प्रश्न उठेको छ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement