बर्जुमा दादुरा रोगविरुद्धको खोप लगाउन थालियो (फोटोसहित)

फाल्गुन १६, २०७९ |अर्जुन सुवेदी
बर्जुमा दादुरा रोगविरुद्धको खोप लगाउन थालियो (फोटोसहित)

सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएको दुई सातापछि त्यहाँका बालबालिकालाई दादुरा रोगविरुद्धको खोप लगाउन थालिएको छ ।

बर्जु गाउँपालिकाका विभिन्न वडाका बालबालिकामा दादुरा पुष्टि भएपछि स्वास्थ्य कार्यालय सुनसरीको पहलमा एकसाथ १० हजार बालबालिकालाई आज (मंगलबार) बाट दादुरा विरुद्धको खोप लगाउन थालिएको हो ।

दुई साताको अवधिमा बर्जु गाउँपालिकामा २९ जना दादुराका बिरामी भेटिएका छन् । उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए । गाउँपालिकाको एकै स्थानमा एकसाथ पाँच जनाभन्दा बढीमा दादुरा संक्रमित भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपत्‌कालीन कार्ययोजना अघि बढाएको हो ।

प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय तहको समन्वयमा दादुरा फैलन नदिन ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन थालिएको हो । मंगलबारबाट एकसाथ सुरु भएको दादुराविरुद्धको खोप अभियान फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement