काठमाडौं । रोग निको हुन्छ भनेर औषधि खाइन्छ । तर, त्यही औषधिले कामै नगरेमा वा हानि गरेमा के होला । अहिले ठीक त्यस्तै अवस्था देखिएको छ । नेपालमा एक हजार औषधिको प्रयोगशाला परीक्षण गर्दा १० प्रतिशत कम गुणस्तरको देखिँदासमेत सरकारले खासै चासो देखाएको छैन । दैनिक प्रयोगमा आउने औषधि कस्तो छ भन्ने न बिरामीले थाहा पाउन सकेका छन् न त सरकारले ।
नेपाली बजारमा १० प्रतिशत औषधि त कम गुणस्तरको पाइन्छ ।
नेपालमा स्वदेशी र विदेशी गरी १८ हजार ब्रान्डका औषधि दर्ता छन् । अहिले देशभित्र ८३ औषधि उद्योग सञ्चालनमा छन् भने औषधि पसलको संख्या २५ हजारको हाराहारीमा छ । तर बजारमा आएका औषधि कस्ता छन् भन्ने चासो सरकारले दिएको छैन । मानिसको जीवनसँग प्रत्यक्ष जोडिने औषधिको प्रयोगशाला परीक्षण बर्सेनि करिब एक हजारको मात्र हुन्छ । त्यसमा पनि १० प्रतिशतसम्म औषधि त कम गुणस्तरको पाइन्छ । औषधिको नियमन गर्ने औषधि व्यवस्था विभाग भने निरीक्षणका लागि जम्मा २३ जना मात्र जनशक्ति रहेको भन्दै जिम्मेवारीबाट पन्छिँदै आएको छ ।
बजारमा उपलब्ध औषधिको तुलनामा निकै कम मात्र परीक्षण भइरहेको छ । यति थोरै मात्रामा प्रयोगशाला परीक्षण हुँदा १० प्रतिशतसम्म कम गुणस्तरको भेटिन्छ भने परीक्षण क्षमता बढाएमा अरु भयावह तथ्य आउन सक्ने अनुमान विज्ञको छ । यता औषधि उत्पादक संघ भने औषधि उत्पादनभन्दा पनि भण्डारण तथा बजारीकरणका बेला बढी त्रुटि हुने गरेको बताउँछ ।
बजारमा कम गुणस्तरको औषधि बिक्री वितरण भइरहेको छ भन्ने सरकारलाई थाहा नै नभएको होइन । तर नियमनमा चासो दिएको छैन । त्यति मात्र होइन, समस्या समाधानको विश्वसनीय उपायसम्म पनि पहिल्याएको पाइँदैन । कम गुणस्तरका र गुणस्तरहीन औषधि प्रयोग गर्दा रोग निको त हुँदैन नै शरीरमा थप नकारात्मक असर पर्ने चिकित्सक बताउँछन् ।
नेपालमा बर्सेनि करिब ७० अर्बको औषधि बिक्रीवितरण हुन्छ । जसमध्ये ५० प्रतिशत स्वदेशमा उत्पादन हुन्छ भने बाँकी ५० प्रतिशत विदेशबाट आयात गरिन्छ । बिरामीले दैनिक प्रयोग गर्ने बजारमा उपलब्ध औषधि कुन गुणस्तरको छ भन्नेसमेत थाहा नहुनु र समस्या छ भन्ने थाहा हुँदा-हुँदै पनि समाधान गर्न नसक्नु सरकारको अक्षमता हो ।