पाल्पाको दुर्गम गाउँमा स्वास्थ्य शिविरकै भर, जिल्लाका अस्पताल सहरमै केन्द्रित (भिडियो)

माघ १०, २०७९ |माधव अर्याल
पाल्पाको दुर्गम गाउँमा स्वास्थ्य शिविरकै भर, जिल्लाका अस्पताल सहरमै केन्द्रित (भिडियो)

पाल्पा । तानसेनमा तीन र रामपुरमा एक गरी पाल्पामा चार ठूला अस्पताल छन् । मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा विशेषज्ञ सुविधा पनि छ । तर दुर्गम बस्तीको स्वास्थ्य अवस्था भने निकै नै कमजोर छ ।

पछिल्ला दिनमा रम्भा र पूर्वखोला गाउँपालिकाले राखेका एकीकृत स्वास्थ्य शिविरले पनि समग्र जिल्लाको स्वास्थ्य अवस्थालाई छर्लङ्ग पारेको छ । रम्भा गाउँपालिकाले पाँच वडामा राखेको एकीकृत स्वास्थ्य शिविरमा ५ हजार बढी पुगेर स्वास्थ्य सेवा लिएका छन् । पूर्वखोलाले तीन वडामा महिलालक्षित विशेषज्ञ शिविर राख्दा ८ सय बढीले सेवा लिए । यातायातको अभाव, विपन्नता र लाजले गर्दा अधिकांश महिला रोग लुकाएर बसेकै कारण गाउँमा राखिने विशेषज्ञ शिविरमा पुग्ने गरेका छन् ।

बेलाबेलामा गाउँमा राखिने विशेषज्ञ र साधारण स्वास्थ्य शिविरमा अधिकांश महिलाकै सहभागिता हुने गरेको छ । महिलाहरू ठूला अस्पतालमा पुग्दासमेत रोग भन्दैनन् । पैसा बढी खर्च हुने र लाजले गर्दा पनि रोग लुकाउने गरेका हुन् । ल्याब, भिडियो एक्सरे, यौन तथा प्रजनन् स्वास्थ्य सेवासहित गाउँमा राखेको शिविरमा भने अधिकांश महिलाले फाइदा लिएका छन् ।

गाउँमै स्वास्थ्य सेवा पाएपछि खर्च पनि जोगिएको भन्दै पूर्वखोला गापा, जल्पाकी जानकीसरा सारुले खुशी व्यक्त गरिन् ।

स्थानीय तहले दुई वर्षसम्म कोरोना महामारीले गर्दा घुम्ती, विशेषज्ञ शिविर गर्न सकेनन् । तीन वर्षपछि रम्भा र पूर्वखोला गाउँपालिकाले वाषिर्क नीति तथा कार्यक्रममै राखेर गाउँ गाउँमा शिविर राखेको हो ।

यो कार्यक्रमलाई निरन्तरता दिने गरी हामी अगाडि बढेका छौँ । आँखादेखि महिलाका विभिन्न स्वास्थ्य समस्याको उपचारका लागि शिविरमा सेवा उपलब्ध गराएका छौँ । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले भने ।

शिविरमा शल्यक्रियाबाहेक अन्य सबै सेवा गाउँमै व्यवस्था हुँदा धेरै महिला लाभान्वित हुन्छन् । विषेशज्ञसहतिको शिविर सबै स्थानीय तहले राख्ने हो भने भौगोलिक विकटता र विपन्नताका कारण औषधि उपचार नगर्नेहरूले फाइदा पाउने थिए । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।