समयमै उद्धार नहुँदा गर्भवतीको मृत्यु

माघ १०, २०७९ |प्रेम रौले
समयमै उद्धार नहुँदा गर्भवतीको मृत्यु
प्रतिकात्मक तस्बिर

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका १, पिनालेखकी २६ वर्षीया गर्भवतीको उपचारका लागि भारत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

पिनालेखकी जानकी विकको भारत लैजाँदै गर्दा सोमबार राति अछाममा मृत्यु भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।

उनका अनुसार दुई दिन पहिले थप उपचारका लागि भारत लैजान रिफर गरिएको भएपनि ढिलो गरी लैजाँदा विकको बाटोमा मृत्यु भएको हो ।

आगामी चैतमा सुत्केरी हुने उनी त्यस अगावै बिरामी भएपछि उपचारका लागि भारत लैजाँदै गर्दा स्वास्थ्यमा थप समस्या आएपछि अछामको बयालपाटा अस्पताल लगिँदै थियो ।

बसमा महेन्द्रनगर हुँदै भारत लैजाने क्रममा अछामको चौखुट्टेमा विकको स्वास्थ्य थप बिग्रिएको थियो । त्यसपछि बयालपाटा अस्पताल लगिएकी उनको अस्पताल पुग्नु अगावै मृत्यु भइसकेको अस्पतालकी अहेब भवानी ढुंगानाले जानकारी दिइन् ।

समयमा उद्धार हुन नसक्दा गर्भवती महिलाको ज्यान गएको बयालपाटा अस्पतालका चिकित्सकको भनाइ छ ।

माघ ४ गते आफन्तले जानकीलाई बाजुरा अस्पतालमा चेकजाँच गर्न ल्याउँदा थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान स्वास्थ्यकर्मीले सुझाव दिएका थिए ।

त्यसपछि घरै फर्किएकी उनलाई सुत्केरी व्यथाले च्यापेपछि माघ ८ गते आइतबार फेरि बाजुरा अस्पताल ल्याइएको थियो । अस्पतालले तत्काल रिफर गरेपनि उद्धारमा ढिलाइ भएको थियो । मृतक महिला मुटु रोगीसमेत रहेको परिवारले जानकारी दिएको छ । 


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।