वायु प्रदूषणले बढ्दै बिरामीहरू, वृद्धवृद्धा र बालबालिकामा बढी समस्या

पुस १, २०७९ |सारा साप्सानाम्मा
वायु प्रदूषणले बढ्दै बिरामीहरू, वृद्धवृद्धा र बालबालिकामा बढी समस्या

काठमाडौं । काठमाडौंमा केही दिनयता चिसो बढेसँगै अस्पताल धाउने बिरामीको सङ्ख्या बढेको छ। वृद्ध–वृद्धाका साथै बालबालिका र युवामा समेत छाती दुख्ने र खोकी लाग्ने समस्या देखा परेको छ । यसको मुख्य कारण हो- उपत्यकाभित्र बढ्दो वायु प्रदूषण ।

कपन निवासी ३५ वर्षीया रिमाको दिनचर्या बिहान सबेरैदेखि सुरु हुन्छ । घर सफा सुग्घर बनाउने, पूजापाठ सक्ने अनि ८ बजेभित्रै छोराछोरी स्कुल पुर्‍याउने । तर अहिले चिसो मौसममा भने रिमाको दैनिकी खलबलिएको छ । ४ वर्षदेखि दमको रोगी रहेकी रिमा जाडो महिना लागेसँगै शिक्षण अस्पताल, महाराजगन्ज धाउँदै छिन् ।"

रिमाजस्तै शिक्षण अस्पताल पुगेकी ५३ वर्षीया बीबी लक्ष्मी तामाङ पनि धुलो धुवाँकै कारण स्वास्थ्य खस्किन थालेको बताउँछिन् । उनी भन्छिन्, ' धुवा धुलो धेरै छ । वस्तु भाउ अलि अलि नपाली सुःख छैन । खेती अलिअलि नगरौँ भने खानु पर्छ । अलि अलि गर्‍यो समस्या बढिरहन्छ ।'

उमेर बढेसँगै धेरैको श्वास-प्रश्वासमा समस्या देखिने गरेको छ । वायु प्रदूषणका कारण अहिले बालबालिका र युवामा पनि यस्ता समस्याहरू देखा पर्न थालेका छन् ।

हावाको बहाव जाडो मौसममा कम हुने भएकाले कचौराजस्तो आकार भएको काठमाण्डौैमा उत्सर्जित धुवाँ धुलो उपत्यका बाहिर जान सक्ने अवस्था कम हुन्छ । साथै, भारतको पन्जाब तथा हरियाणा क्षेत्रबाट बहेर आउने प्रदूषित वायु चिसो मौसममा थेग्रिँदा काठमाण्डौंको वायु प्रदूषण उच्च जोखिमपूर्ण अवस्थामा पुग्ने गरेको छ ।

वायु प्रदूषण न्यूनीकरण गर्ने हो भने सवारी साधनबाट हुने प्रदूषण घटाउन जरुरी छ । साथै, आम नागरिकको तहमा हुन सक्ने धेरै पहलहरूमध्ये एउटा हो- घरमा भएका फोहोर मैला खुला ठाउँमा बाल्न बन्द गर्नु ।


Image

सारा साप्सानाम्मा

साप्सानाम्मा कान्तिपुर टेलिभिजनको अंग्रेजी समाचार ब्युरोमा कार्यरत छन् ।