उपत्यकासहित देशका अन्य जिल्लामा झाडापखालाका बिरामी

असार ६, २०७९
उपत्यकासहित देशका अन्य जिल्लामा झाडापखालाका बिरामी

वर्षायाम सुरु भएसँगै काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा झाडापखालाका बिरामी बढ्न थालेका छन । काठमाडौंमा त हैजाका बिरामीसमेत देखिएका छन् । सरकार र नागरिक सचेत भएर समयमै नियन्त्रण गर्न नसकिए यसले महामारीको रुप लिन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । 

काठमाडौंको बागबजारका २ जनामा हैजा देखिएपछि अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु बाहेक काठमाडौंकै अरु स्थानमा थप २ जनामा रेपिड टेस्ट गर्दा हैजा पोजेटिभ देखिएको छ । अहिले संघीय राजधानी काठमाडौंकै विभिन्न स्थानमा हैजा देखिएपछि यसले थप जोखिम बढाएको छ । केहीलाई मात्र संक्रमण देखिएको अहिलेको अवस्थामा सरकारले हैजाको स्रोत पत्ता लगाउनदेखि नियन्त्रण गर्न सकेन भने यसले महामारीको रुपनै लिन सक्ने जनस्वास्थ्यविद बताउँछन् ।

हैजा सामान्य झाडापखालाभन्दा घातक हुन्छ । हैजा लागेकाको समयमै उपचार नभए ज्यान नै जान सक्छ । वर्खा सुरु भएसँगै झाडापखाला तथा हैजाको प्रकोप र जोखिम बढ्ने भएकाले खानपान तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् । 

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भने अहिले हैजाको स्रोत पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ । योसँगै अन्यमा हैजाको लक्षण देखिएको छ या छैन भन्ने पत्ता लगाउनसमेत सरकारी टोली खटिएको छ । 

सरकारले जतिसक्दो चाँडो हैजाको स्रोत पत्ता लगाएर नियन्त्रणको काम अघी बढाउनुपर्छ । महामारीकै रुप लिएपछि मात्र तात्ने विगतको परिपाटी दोहोर्याउने हो भने ठुलो क्षति नहोला भन्न सकिन्न ।