नेशनल म्युजिक अवार्ड : को बन्ला उत्कृष्ट ?

असार २२, २०८२ |विकास आचार्य
नेशनल म्युजिक अवार्ड : को बन्ला उत्कृष्ट ?

काठमाडौं । प्रतिष्ठित नेशनल म्युजिक अवार्डको आठौं संस्करण अन्तर्गतका १४ विधाकै नोमिनेशन सार्वजनिक भएको छ । रेडियो कान्तिपुरले आयोजना गर्दै आएको नेशनल म्युजिक अवार्ड-२०८२ मा गत वर्ष सार्वजनिक भएका गीतहरूमध्येबाट विभिन्न विधामा उत्कृष्ठ ५ सर्जक वा सिर्जनाको सूची सार्वजनिक भएको हो । नोमिनेशनमा चर्चित कलाकारहरू कुमः सागर, सुशान्त केसी, शान्तिश्री परियार र समीक्षा अधिकारीको सर्वाधिक २-२ विधामा मनोनयनमा परेका छन् । समीक्षा अधिकारी पिपुल्स च्वाइस विधाअन्तर्गत दुस्मन हेरेको हेर्‍यै गीतमा दुर्गेश थापासँगै पर्न सफल भएकी छिन् ।

उत्कृष्ट पप सिंगर (पुरुष) तर्फ यस पटक बार्दलीबाट सुशान्त केसी, एक्लै भएनीबाट सुजन चापागाईं, एकादेशमाबाट सज्जनराज बैद्य, तिम्रो बोलीमाबाट स्वप्न सुमन र फर्कन्न होलाबाट जोन चाम्लिङ राई मनोनयनमा परेका छन् । त्यस्तै पप सिंगर (महिला) तर्फ भने यस पटक आस्था तामाङ मास्के, रचना दाहाल, त्रिशला गुरुङ, समृद्धि राई र सज्जा चौलागाईं मनोनयनमा पर्न सफल भए । 

उत्कृष्ट आधुनिक गायकतर्फ भने शिव परियार, सत्यराज आचार्य, प्रविन बेडवाल, विश्व नेपाली र शशी गुरुङबीच प्रतिस्पर्धा हुनेछ । यस्तै उत्कृष्ट आधुनिक गायन महिलातर्फ भने रचना रिमाल, टीका प्रसाईं, लाबोनी चक्रवर्ती, बबिना भट्टराई र समीक्षा अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ । पिपुल्स च्वाइसमा यस पटक कुमः सागरको हावाको लहर, सुशान्त केसी र इन्द्रकला राईको बार्दली, दुर्गेश थापा र समीक्षा अधिकारीको दुस्मन हेरेको हेरै, शान्तारानी परियारको म त ढले ढले र शान्तिश्री परियारको रुकुम मैकोटबीच प्रतिस्पर्धा हुँदैछ ।

अवार्डको आठौं संस्करण अन्तर्गतका १४ विधाको नोमिनेशनमा यसपटक हिपप र आरएन्डबी पनि समावेश छ । हिपहप र आरएन्डबीतर्फ ओएमजी स्पार्क, भेक-जेम्सी, डी मित्री, बृज्रेश श्रेष्ठ र यवेश एन्ड विजनबीच प्रतिस्पर्धा हुँदैछ । अवार्डको मनोनयनमा गत वर्ष सार्वजनिक भएका गीतहरू समावेश छन् ।

रेडियो कान्तिपुरले हरेक वर्ष आयोजना गर्ने म्युजिक अवार्डमा यस पटक दर्शक तथा स्रोताले टिकट काटेर सहभागिता जनाउन पाउने भएका छन् । अवार्ड मात्र नभएर कन्सर्टको मज्जा दर्शक स्रोताले लिन पाउनेछन् । नोमिनेशनको पूरा सूची रेडियो कान्तिपुरमा सुन्न र कान्तिपुर मिडिया ग्रुपका विभिन्न डिजिटल प्लाटफर्ममा हेर्न सकिनेछ । 

रेडियो कान्तिपुरले हरेक वर्ष आयोजना गर्दै आएको यो कार्यक्रममा यसपालि युवा पुस्ताका चर्चित १० कलाकारहरू कुमः सागर, दुर्गेश थापा, स्वप्न सुमन, सुशान्त घिमिरे, वाङ्देन शेर्पा, अस्मिता अधिकारी, एलिना चौहान र पशुपति शर्माका साथै कार्टुन क्रुजको प्रस्तुति रहने छ । 

कार्यक्रम असार २८ गते ललितपुरको गोदावरीको सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । कार्यक्रममा दीर्घ साधना सम्मान अर्थात् लाइफटाइम अचिभमेन्ट अवार्डबाट संगीत क्षेत्रमा जीवनभर लामो समयसम्म योगदान दिएका कलाकारलाई सम्मानित गरिँदैछ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।