सलाम ज्युँदो इतिहासमा वरिष्ठ संगीतकार राजु सिंह सम्मानित

असार २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सलाम ज्युँदो इतिहासमा वरिष्ठ संगीतकार राजु सिंह सम्मानित

काठमाडौं । रेडियो कान्तिपुरले ‘सलाम ज्युँदो इतिहासलाई’ कार्यक्रमअन्तर्गत शनिबार वरिष्ठ संगीत साधक राजु सिंहलाई सम्मान गरेको छ । झन्डै ४ दशकदेखि संगीत क्षेत्रमा सक्रिय सिंहलाई रेडियो कान्तिपुरमा एक कार्यक्रमका बीच सम्मान गरिएको हो । रेडियोका स्टेशन म्यानजेर पवन आचार्यले सिंहलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

पिता वरिष्ठ वाद्यवाधक भगत सिंहको प्रभावले संगीतमा प्रवेश गर्नुभएका सिंह विद्यालय पढ्दादेखि नै गीत गाउनुहुन्थ्यो । पछि उहाँ संगीतकारका रूपमा चर्चित हुनुभयो । सिंह भन्नुहुन्छ, “जुन पेशामा लागे पनि पढ्नुपर्छ भन्ने बुवाको प्रेरणाका कारण मैले पछि संगीत पनि पढें । शायद त्यसैले अहिले मलाई राजु सिंह बनाएको हो ।”

सिंहले नेपाली गायक गायिकासहित चर्चित पाकिस्तानी गायक गुलाम अली र भारतीय गायिका आशा भोशलेलाई पनि संगीत दिनुभएको छ । ३५ भन्दा बढी सोलो एल्बम निकाल्नुभएका सिंहको संगीतमा १ हजार २ सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।

रेडियो कान्तिपुरले हरेक महिना गीत, संगीत, सिनेमा र साहित्यका मुर्धन्य व्यक्तित्वलाई सलाम ज्युँदो इतिहासलाई कार्यक्रममा सम्मान गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.