रजतपटका कलाकार रंगमञ्चमा, कोही अभिनयको भोक मेटाउन कोही अनुशासनमा बस्न

जेष्ठ ३१, २०८२ |प्रकाश बम
रजतपटका कलाकार रंगमञ्चमा, कोही अभिनयको भोक मेटाउन कोही अनुशासनमा बस्न

काठमाडौं । नेपाली रंगमञ्च, सिने क्षेत्रमा पदार्पण गर्न चाहने कलाकारहरूका लागि खुट्किलो नै हो । रंगमञ्चमा आफ्नो अभिनय कौशल निखारेर धेरै कलाकारले सिनेमा क्षेत्रमा भविष्य बनाएका छन् ।

यता सिने जगत्‌मा स्थापित कलाकारहरू पनि बेलाबखत रंगमञ्च फर्किने पुरानै चलन हो । कला क्षेत्रका यी दुई विधामा कलाकारहरूको आदानप्रदानले कस्तो अर्थ राख्छ त ?

हिरो चलचित्रमार्फत नायिकका रूपमा प्रवेश गर्नुभएकी रेखा थापाले त्यसपछिका करिब २ दशक नेपाली चलचित्र क्षेत्रमा दबदबा राख्नुभयो । आफ्ना पात्रहरूमार्फत उहाँले नायकको परिभाषा नै बदल्नुभयो । महिला पात्र पनि चलचित्रको नायक हुनसक्छन् भन्ने दृष्टान्त पेश गर्नुभयो । उनै कलाकार थापा अहिले रंगकर्ममा लाग्नुभएको छ । उहाँले खेलेको नाटक मीरा अहिले कान्तिपुर थिएटरमा मञ्चन भइरहेको छ ।

मीरा नाटकमार्फत उहाँ अभिनयको भोक मेटाउन भन्दै रंगकर्ममा प्रवेश गर्नुभएको हो । रजतपटमा देखिँदै आएकी अभिनेत्रीलाई रंगमञ्चमा देख्न पाउँदा दर्शक पनि दंग छन् ।

आफूलाई नाटकघरकै उत्पादन मान्ने कलाकार सरोज खनालले पनि नाटक मन्जिरामार्फत रंगकर्ममा पुनरागमन गर्नुभएको छ । यो उहाँ अभिनित ३४ औं नाटक हो । नाटक, टेलिचलचित्र हुँदै चलचित्रका दर्शकलाई समेत आफ्नो अभिनय कौशलले मोहित बनाउनुभएका खनाल अभिनयको अनुशासनमा बस्न रंगकर्ममा फर्किने गरेको बताउनुहुन्छ ।

नेपाली चलचित्रका ‘महानायक’ भनेर परिचित राजेश हमाल पनि २०७० सालमा पहिलो पटक नाटकमा देखिनुभएको थियो । अनुप बराल निर्देशित नाटक कोर्ट मार्सलमार्फत रंगमञ्चमा उभिनुभएका हमालको त्यति बेला व्यापक चर्चा समेत भएको थियो । २०७५ सालमा कलाकार नीर शाह पनि घिमिरे युवराज निर्देशित नाटक बाथ-टबमा देखिनुभयो । 

त्यसअघि पनि दर्जनौं नाटक खेलिसक्नुभएका शाहले बाथ-टबमार्फत ३२ वर्षपछि रंगमञ्चमा पुनरागमन गर्नुभएको थियो ।

दयाहाङ राई, विजय बराल, विपिन कार्की, सौगात मल्ल, बुद्धि तामाङ, कर्मा शाक्य, खगेन्द्र लामिछाने, दिया मास्के लगायत‍ कलाकार रंगमञ्चबाटै चलचित्रमा प्रवेश गरी स्थापित र स्टार भएका हुन् । रंगकर्ममा यी कलाकारको उपस्थिति पातलिए पनि बेलाबखत रंगमञ्चमा देखिने गरेका छन् ।

नाटकघरलाई कलाकारिताको अभ्यास गर्ने थलो मानिन्छ । त्यसमा पनि स्थापित कलाकारहरू कम मात्रामै सही, रंगमञ्चमा उभिनुले उनीहरूको अभिनय कौशलमा निखार त ल्याउँछ नै यसले विस्तारको मार्गमा हिँडिरहेको रंगमञ्चलाई पनि बलियो आड दिन्छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।