पूर्णबहादुरको सारङगीको झंकार, चलचित्रको व्यापार मालामाल

कार्तिक २४, २०८१ |कृपाल गौतम
पूर्णबहादुरको सारङगीको झंकार, चलचित्रको व्यापार मालामाल

काठमाडौं । ठूला ब्यानरका नेपाली तथा हिन्दी चलचित्रले हलहरुमा कब्जा जमाइरहेकै बेला विना तामझाम र प्रचार लक्ष्मीपूजाका दिनदेखि लागेको थियो चलचित्र ’पूर्णबहादुरको सारंगी’ । तर, सुरुदेखि नै यसले दर्शकको मन छोयो । सामान्य गाउँले परिवेश र त्यहाँभित्र हुने थिचोमिचोसँगै छोराको सपना पुरा गर्न एउटा बुवाले गरेको संघर्षलाई यथार्थवादी रुपमा प्रस्तुत गरिएको भूमिकालाई दर्शकले धेरै नै मन पराएका छन् । 

चलचित्र हेरेर फर्किएका दर्शकको प्रतिक्रियाकै आधारमा चर्चा बढ्दै गएपछि अहिले दर्शकले टिकट पाउन हम्मे हम्मे छ । तीन दिन पछि सम्मको टिकट बुक भइसकेको छ ।

पूर्णबहादुरको सारंगी प्रदर्शनमा आएका बेला बलिउडका ठूला ब्यानरका 'सिंघम अगेन' तथा 'भुलभुलैया ३' हलमा थिए । तर, दर्शक बढ्दै गएपछि ती चलचित्र विस्थापितजस्तै भएका छन् । सोहीकारण हलहरुले बिहान ४:४५ देखि राति ११:५५ सम्म नै शो राख्नुपरेको छ । तर त्यति गर्दा पनि टिकट बिक्री भइरहेको हल सञ्चालकहरु बताउँछन् ।

पूर्णबहादुरको सारंगीले शनिबार देशभरका हलहरुमा ५ सयभन्दा बढी शो पाएको वितरकको दाबी छ । हालसम्म ११ करोड भन्दा बढी कमाइसकेको यो सिनेमाले शनिबार मात्र ४ करोडभन्दा बढीको टिकट बेचेर इतिहास रचेको वितरक बताउँछन् ।

राम्रो कथावस्तु र कलाकारले पात्रलाई न्याय गर्ने गरी अभिनय गरेमा धेरै तडकभडक विना नै पनि चलचित्रले सफलता पाउन सक्ने निर्देशकको भनाइ छ ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बरालको मुख्य भूमिका छ । पछिल्लो समय मौलिक खालका चलचित्रलाई दर्शकहरुले मन पराइरहेका छन् । जसले चलचित्रकर्मीहरुलाई मौलिक विषयवस्तुलाई प्राथमिकता दिन दबाब पनि बढेको छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement