मीन भामद्वारा निर्देशित चलचित्र 'साम्बाला' शुक्रबारदेखि प्रदर्शन हुने

भाद्र २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मीन भामद्वारा निर्देशित चलचित्र 'साम्बाला' शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडौं । मीन भामद्वारा निर्देशित नेपाली चलचित्र 'साम्बाला' शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । गत आइतबार भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपको उपस्थितिमा प्रिमियर भएको चलचित्र शुक्रबारबाट प्रदर्शन हुन लागेको हो ।

जर्मनीमा सम्पन्न ७४ औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोटमा परेर प्रशंसा कमाएको साम्बालामा नेपालको उच्च हिमाली क्षेत्रको जनजीवन देखाइएको छ । बहुपति प्रथाको पृष्ठभूमिमा व्यापारका लागि ल्हासा पुगेर हराएका पति खोज्न निस्किएकी एक गर्भवती महिलाको कष्टकर यात्राको कथा चलचित्रमा देखाइएको छ ।

साढे दुई घण्टा अवधिको चलचित्रको कथा मीन भाम र अविनाशविक्रम शाहले लेख्नुभएको हो । सुनी फिल्म्सको ब्यानरमा निर्मित चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिङ डल्हा, कर्मा, लोटन निमलिङ्ग, जंगबहादुर लामा, बालकलाकार कर्मा वाङ्ग्याललगायतको अभिनय छ ।

आइतबार प्रिमियर शोमा चलचित्र हेरेका भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र अनुराग कश्यप दुवैले चलचित्र उत्कृष्ट बनेको र आफूलाई मनपरेको बताएपछि 'साम्बाला'को चर्चा जारी छ । प्रदर्शनमा आउनुअघि चलचित्र समीक्षकहरुले चलचित्रका बारेमा सकारात्मक प्रतिक्रिया दिएका छन् । 

'साम्बाला'मा पेमाको भूमिका निर्वाह गरेकी अभिनेत्री थिन्ले ल्हामोले यसै फिल्मको अभिनयका लागि स्विट्जरल्याण्डको प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा ‘बोक्कालिनो डिओर’ अवार्ड जित्नुभएको छ ।

युरोपभरका फिल्म समीक्षकले उत्कृष्ट अभिनय गर्ने कुनै एक कलाकारलाई यो अवार्ड प्रदान गर्छन् । दक्षिण एसियाली कलाकारले यो अवार्ड जितेको पहिलोपटक हो । मिन भामले यसअघि निर्देशन गरेको चलचित्र कालो पोथी विश्वप्रसिद्ध अस्कर अवार्डका लागि छनोट भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement