काठमाडौं । र्यापलाई अधिकांशले बोलीचालीमा ‘रिदम एन्ड पोयट्री’ का रूपमा चर्चा गर्छन् । अर्थात् रिदममा कविता भन्ने शैली । ती कविता कसरी रिदममा र कुन बिटमा गाइएको छ भन्ने कुराले र्यापलाई अर्थ्याइन्छ । रमाइलो के छ भने, र्याप शास्त्रीय सांगीतिक रागमा गाइरहनु पर्दैन ।
सन् १९७० तिर न्युयोर्क सहरको ‘द ब्रंक्स’ मा डिजे बिट बक्सरले माइकमा बिटसँगै राइम गाउन थाले । डिजेइङसँगै राइम अर्थात् अनुप्रास मिलाउन थालेपछि न्युयोर्कको ब्रंक्समा नयाँ संगीतको उदय भयो, उद्घोषक र डिजेहरूले नै हिपहप संगीत सुरु गरे । सन् १९७३ तिर जमैकन आप्रवासी कुल हर्कले ब्रंक्समा पार्टी आयोजना गर्दै र्याप सुरु गरेको र त्यसैलाई हिपहप संगीतको सुरुवात भएको मान्नेहरू पनि छन् ।
विश्वमा हिपहपको तरंग छाएको २० वर्षपछि मात्रै नेपालमा र्यापको बीजारोपण भएको हो । सुरुवाती दिनमा र्याप अंग्रेजीमै हुनुपर्थ्यो भन्ने विश्वास थियो । तर अहिले समय बदलिएको छ- एक से एक नेपाली र्याप चर्चित छन् ।
‘र्याप गड’ यम बुद्धको सालिक बन्नुपर्छ : गिरिश खतिवडा
नेपालमा र्याप ब्याटल सुरु गरेका यम बुद्ध सधैं भन्ने गर्थे- कवि नबनी कोही पनि र्यापर बन्न सक्दैन । अमेरिकन र्यापर टुप्याक साकुर पनि र्यापलाई ‘कविता’ कै रूपमा व्याख्या गर्थे । नयाँ पुस्ता र्यापमा झुम्मिरहँदा यसप्रति नकारात्मक दृष्टिकोण राख्नेहरू पनि छन् । छाडा भनिएका शब्द भएकाले परिवारसँग बसेर सुन्न सकिँदैन भन्नेहरू पनि छन् । तर र्याप, संगीतको फरक शैली र भिन्न विधा हो ।
रिलिज भएका केही दिनमै युट्युबमा लाखौं दर्शक झुम्मिनुले नयाँ पुस्तामा यसको लोकप्रियता पुष्टि गर्छ । र्यापमा गीत लेख्ने, संगीत भर्नेदेखि गाउनेसम्म र्यापरले नै गर्नुपर्ने हुँदा यो संगीत अरूभन्दा फरक रहेको गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्का बताउनुहुन्छ ।
शास्त्रीय राग, स्केल मिलाएर गाइरहनु नपर्ने हुँदा युवाहरूको ठूलो जमात र्यापमा आकर्षित हुने क्रम बढ्दो छ । र्यापमा हाई/लो स्केल हेरेर गीत गाउनुपर्दैन । टाइमिङ मिलाए मात्र पुग्छ । यही माध्यममा आफ्नो कुरा राख्न सकियो भने त्यो व्यक्ति र्यापर भइहाल्यो । आफूलाई भन्न मन लागेको कुरा अभिव्यक्त गर्न पाउने सजिलो, छरितो माध्यम नै र्याप रहेको गिरीश खतिवडा बताउनुहुन्छ ।
पछिल्लो समय र्यापसम्बन्धी रियालिटी शो ‘नेपहपको श्रीपेच’ ले भने भाइबर साइमन, एम्सी किङ, बाबु विलिभर, जेनिश क्षत्री, विशेष भट्टराईलगायत थुप्रै प्रतिभालाई जन्माएको छ । नेपालको पहिलो हिपहप संगीतमाथिको रियालिटीले र्यापको विविधतासमेत देखाइदिएको छ ।