काठमाडौं । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक 'युगको साँचो' मञ्चन भइरहेको छ । रङ्गकर्मी टंक चौलागाईंले नाटक 'चार्ली एन्ड द चकलेट फ्याक्ट्री'लाई परिमार्जन एवं निर्देशन गरी नेपाली परिवेश अनुसारको नाटक 'युगको साँचो' तयार गर्नु भएको हो ।
विद्यार्थीहरुलाई नाटक सिकाउने रङ्गकर्मी चौंलागाईंले बालबालिका केन्द्रित नाटक 'चार्ली एन्ड द चकलेट फ्याक्ट्रीलाई 'युगको साँचो'मा ढालेर युवा लक्षित कथा तयार पार्नु भएको छ । चौलागाईंले नाटक युगको साँचोमा नेपालमै उद्योग सञ्चालन गरेर युवा पुस्तालाई रोजगार दिन सकिने बहस गर्न खोजेको जनाउनु भयो ।
१३ जना कलाकारले अभिनय गरेको नाटकको समय डेढ घण्टा छ । मंगलबार बाहेक हरेक दिन साँझ साढे ५ बजे र शनिबार दिउँसो १ बजे पनि नाटक मञ्चन गरिनेछ । असार २७ गतेदेखि मञ्चन सुरु भएको नाटक साउन १९ गतेसम्म चल्नेछ ।